महिनावारी भएका छात्रालाई जान नदिन भत्काइयो विद्यालको शौचालय

0
538

बैतडी, ६ बैशाख । विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावक यस्तो निर्णयमा पुगे, ‘शौचालय भत्काऔं,नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ।’ विद्यालय परिसरमा रहेको मन्दिर नजिकै बनाइएको शौचालयमा महिनावारी भएका बखत शौच गरेकै कारण देउता रिसाएकाले छात्राहरू बेहोश बनेको ठम्याइ विद्यालय पदाधिकारी तथा अभिभावकको रह्यो। ‘मास हिस्टेरिया’बारे अनभिज्ञ विद्यालय पदाधिकारी तथा अभिभावकले अन्ततः शौचालय नै भत्काइदिए। शौचालय भत्काइएपछि बेहोस हुन छाड्नु संयोग थियो तर अभिभावकले त्यसलाई दैवी चमत्कारका रूपमा लिए ।

स्रोत व्यक्ति लालदत्त ओझाले जिल्ला शिक्षा कार्यालय बैतडीद्वारा आयोजित छात्रा शिक्षा सञ्जालको बैठकमा ‘मास हिस्टेरिया’ भएका दुई विद्यालयमा देउता रिसाएको भन्दै धामी झाँक्रीबाट उपचार गर्न खोजिएको बताए।’कतिपय विद्यालयमा त महिनावारी भएकी महिला शिक्षकले चार दिन पढाउनु नपर्ने निर्णयसमेत व्यवस्थापन समिति र अभिभावकबीच भएको रहेछ’, उनले भने, ’हामीले थाहा पाएपछि त्यस्तो गर्नबाट रोक्यौं।’ सुदूर पश्चिममा रजश्वलाका बखत अध्ययनरत छात्रा तथा महिला शिक्षकले भोग्नु परि रहेको पीडा अझै घट्न सकेको छैन। जिल्लाका सदरमुकाम तथा आसपासमा रजस्वलाका कारण सिर्जित समस्या कमै देखिए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा उनीहरू पीडित छन् । सहरी क्षेत्रमा लुकाइने गरिएकाले घटेको जस्तो देखिएको सरोकारवालाको भनाइ छ ।

स्रोत व्यक्ति मदनसिंह भण्डारीले कतिपय शिक्षकले धामी झाँक्रीको पेसा पनि अपनाउँदै आएको जानकारी दिए। ’त्यस्ता शिक्षकहरूले निकै बार्छन्’, उनले भने, ’महिनावारी भएका छात्रा पनि विद्यालयमा आएका हुनसक्ने भएकाले कुनै पनि छात्रालाई छुँदैनन्। छात्राहरूलाई नजिक आउन दिँदैनन् र टाढाबाट सिकाउँछन्।’ अर्का स्रोत व्यक्ति हरेन्द्रप्रसाद जोशीले आफ्नो क्षेत्रका विद्यालयहरूमा चार दिनसम्म महिला शिक्षक नजाने गरेको तर आफूले ‘शिक्षा ऐन र नियमावलीमा महिनावारी भएका बेला महिला शिक्षक विद्यालयमा जानु नपर्ने भनी कहाँ लेखिएको छ, देखाउनुस्’ भनेपछि त्यस्तो प्रवृत्तिमा कमी आएको सुनाए ।