आजसम्म दर्ता नभए नेपालमा फेसबुक बन्द हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् ।
रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिएका थिए।
उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौं ।’
सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरोध गर्नुपरेको बताए । उनले सामाजिक सञ्जाल अरु देशमा दर्ता भएर चल्ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि त्यो आवश्यक रहेको उनको भनाइ थियो ।
‘छिमेकी मुलुक भारतलगायतका विभिन्न देशहरूमा फेसबुकलगायतका सामाजिक सञ्जालले दर्ता भएर राजश्व तिरिरहेको छ। तर, नेपालमा बिनादर्ता नै चलिरहेको छ। अब फेसबुक, एक्स र युटुबलगायतकाले राजश्व तिर्नुपर्छ।’उनले भने