२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

महासंघले आन्दोलन चर्काउने, देशभरका शिक्षकलाई काठमाडौं आउन सर्कुलर

विद्यालय शिक्षा विधेयक २०८१ को छिटो पारित हुनुुपर्नेलगायतका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलन अझ चर्किने संकेत देखिएको छ । शिक्षक महासंघले सरकारले आन्दोलनप्रति गम्भीरता नदेखाएको भन्दै ७७ वटै जिल्लाबाट थप शिक्षकलाई काठमाडौं बोलाउने निर्णय गरेको छ ।

शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भएको छलफलले अपेक्षित नतिजा नदिएपछि महासंघले आन्दोलनलाई नयाँ चरणमा लैजाने रणनीति बनाएको हो । महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीका अनुसार, अब कुनै पनि विद्यालयमा शिक्षक नरहने गरी आन्दोलनलाई राष्ट्रिय रूप दिइनेछ । ‘शिक्षकहरू अब झन् व्यापक रूपमा काठमाडौं आउनुहुनेछ,’ उनले भनिन् ।

शनिबार साँझ भोजपुरको साल्पासिलिछोबाट राजधानी आइपुगेका शिक्षक रविन राईले देशभरबाट गाडी रिजर्भ गरेर शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं आइरहेको जानकारी दिए । ‘अहिले पनि थुप्रै गाडी काठमाडौं छिर्दै छन्,’ उनले भने ।

शिक्षकहरूले माग गरिरहेको विद्यालय शिक्षा विधेयक अझै संसद्मा टेबुल भएको छैन । प्रधानमन्त्री ओलीले १२ वैशाखमा विधेयक संसद्मा प्रस्तुत गर्ने र १३ वैशाखमा पारित गरिने आश्वासन दिए पनि विगतका सम्झौताहरू कार्यान्वयन नभएको अनुभवका कारण आन्दोलनरत शिक्षकहरू आश्वस्त देखिएका छैनन् ।

२०७५ मा तत्कालीन प्रधानमन्त्री ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा भएको ३० बुँदे, २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको ५१ बुँदे र २०८० मा पुष्पकमल दाहाल नेतृत्वमा गरिएको ६ बुँदे सहमतिहरू अझै कार्यान्वयनमा आइसकेका छैनन् । त्यसैले यसपटक शिक्षकहरू ‘माग पूरा गरेर मात्र फर्किने’ अडानमा छन् ।

सरकारले आन्दोलनका जायज मागप्रति चासो देखाए पनि अपेक्षित संवाद र समन्वय हुन सकेको छैन । २५ चैतमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूलाई वार्ताको जिम्मा दिए पनि ती अधिकारीहरूले शिक्षकमाझ विश्वसनीय संवाद गर्न असफल भएको देखिन्छ ।

अर्कोतर्फ, सरकारका प्रवक्ताद्वारा आन्दोलनलाई ‘राजतन्त्र फर्काउने षड्यन्त्र’ भन्दै गरिएको आरोपले आन्दोलन थप आक्रोशित बनाएको छ । सभामुखले पनि शिक्षा विधेयक प्राथमिकतामा नपर्ने भनाइ दिँदा आन्दोलनकारी शिक्षकहरूको आस्था थप कमजोर भएको छ ।

१८ दिनदेखि जारी आन्दोलनको प्रभाव शैक्षिक क्षेत्रमै गहिरो परेको छ । कक्षा १२ को परीक्षा अनिश्चित बनेको छ भने कक्षा ८ को नतिजा प्रकाशन रोकिएको छ। एसईई कापी परीक्षण, विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणजस्ता प्रक्रिया ठप्प छन् । शिक्षकहरूको आन्दोलन अब निर्णायक चरणमा पुगेको देखिन्छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।