
राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनसहित नेता–कार्यकर्ता पक्राउबाट सरकारको लोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र प्रष्ट भएको प्रतिक्रिया दिएको छ।
राजतन्त्र फर्काउने उद्देश्यसहित आइतबार गरिएको निषेधाज्ञा उल्लंघन कार्यक्रमका क्रममा अध्यक्ष लिङ्देनसहितका नेताहरू पक्राउ परेपछि राप्रपाले त्यस्तो प्रतिक्रिया दिएको हो।
पक्राउ परेका नेताहरुको रिहाइको माग गर्दै राप्रपाले अध्यक्ष लिङ्देनसहितका सांसदले सिंहदरबारभित्रै र अरू नेता–कार्यकर्ताले बिजुलीबजारदेखि बानेश्वरसम्मका क्षेत्रमा प्रदर्शन गरेका थिए। लिङ्देनको नेतृत्वमा सांसदहरूले निषेधाज्ञा उल्लंघन गरेपछि प्रहरीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका थिए। त्यस्तै, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए।
पक्राउपछि आइतबारै बसेको राप्रपा केन्द्रीय समितिको आकस्मिक बैठकले सिंहदरबार परिसरभित्रैबाट अध्यक्ष लिङ्देनसहितलाई गिरफ्तार गरिनु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको भन्दै त्यसले सरकारको निरंकुश चरित्र देखाएको प्रतिक्रिया दिएको छ। साथै, पक्राउ परेका सम्पूर्ण नेता–कार्यकर्ताको रिहाइको मागसमेत गरेको छ।
‘सरकारको यसप्रकारको रबैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको प्रस्ट छ। अध्यक्ष र नेताहरू पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ। यसको सर्वत्र विरोध गरिनुपर्छ। शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा गिरफ्तार हुनुभएका अध्यक्ष र सबै नेताहरूको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ,’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले संविधानप्रदत्त अधिकार उल्लंघन हुँदै गए सशक्त प्रतिवाद गर्ने पनि चेतावनी दिएका छन्। ‘सरकारको रबैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ। संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, बैठकले १५ चैतमा भएको तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने र बन्दी बनाइएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमशेर राणालगायत सबै, नेता, कार्यकर्ताहरूको रिहाइको माग पनि गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरू रिहा भएका छन् ।
काठमाडौँ प्रहरी परिसरले अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई रिहा गरेको हो ।
सिंहदरबारमा साङ्केतिक प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो लिङदेन सहितका नेताहरू पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत ७ जना थिए ।
काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट आफूहरूलाई निस्किन नदिएको बताएका छन् ।
बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने तयारीसम्बन्धी भइरहेको छलफलको क्रममा थिए ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरूलाई सिंहदरबारको संसद दलको कार्यालयमा डीएसपीको कमाण्डमा बन्धक बनाइएको बताए ।
उनले भने, ‘सिंहदरबारको संसदीय दलको कार्यालयमा हामीलाई प्रहरीले बन्धक बनाइयो। कार्यालय अगाडि बाक्लो रुपमा प्रहरी आएका छन्। डिएसपीको कमाण्डमा प्रहरीले संसदीय दलको कार्यालयमा घेरा हालेका छन्।’
राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज प्रदर्शन गरिरहेको छ।
काठमाडौं । निषेधित क्षेत्र तोड्ने घोषणासहित प्रदर्शनमा उत्रेका राप्रपाका नेता–कार्यकर्ता र प्रहरीबीच काठमाडौंको नयाँबानेश्वरमा ‘घम्साघम्सी’ भएको छ। बानेश्वरबाट अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजिरहेको छ । आज निषेधित क्षेत्र तोडेर सामूहित गिरफ्तारी दिने रणनीतिका साथ राप्रपा प्रदर्शनमा उत्रेको हो।
सरकारले भने बलजफ्ती गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । सडकमा ठूलो संख्यामा प्रहरीहरू परिचालित छन् । राप्रपा नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले माइकिङ गरेको छ । शनिबार नै राप्रपाले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कारबाही गर्ने चेतावनी दिएको थियो । आइतबार प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न प्रयास गरेपछि माइकिङ गरिरहेको छ।
राजावादीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सचेत गराउँदै प्रहरीले माइकिङ गरेको हो । राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसअघि बल्खुमा चैत २६ गते राप्रपाले विरोधसभा गरेको थियो । त्यसअघि चैत १५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रुप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा छन् । आफ्ना दुई नेतासहित चैत १५ को तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ ।
राप्रपाले आज बबरमहल लक्षित गरेर प्रदर्शन गर्ने भएपछि बबरमहल- बानेश्वर सडक दायाँबायाँका सटरहरु बन्द गरिएको छ ।
राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने भनेपनि व्यवसायीहरुले सटर बन्द गराएका हुन् । १९ दिनदेखि जारी शिक्षक आन्दोलनमा बन्द नभएको सटरहरु आज बन्द गरिएको छ ।
राप्रपाले निषेधित क्षेत्र तोड्नेगरी प्रदर्शन गर्न लागेपछि व्यवसायीहरुले आफनो पसलमा तोडफोड हुनसक्ने डरले सटर बन्द गराएको हुन् । यसअघि चैत१५ मा भएको राजावादी आन्दोलनमा तीनकुनेमा आन्दोलनकारीले व्यक्तिको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड आगजनी गरेका थिए ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता/कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनकारीले गृहमन्त्री राजीनामा दे, सरकार मुर्दावाद, हाम्रा नेता रिहाई गर भन्दै नाराबाजी गरेका छन्।
लिङ्देनका अनुसार भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई सीमा तोक्नेको विरुद्धमा राप्रपाले प्रदर्शन गरेको छ। ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।’ उनले भने, ‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।’
पार्टीका नेताहरु पक्राउ परेपछि उनले निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफूहरू सामूहिक रूपमा थुनामा जान तयार भएको सन्देश दिन खोजेको बताएका छन्।
यता गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्र तोड्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार विज्ञप्ति जारी गरेर मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन खालका गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने जनाएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापनाको मागसहित आज (आइतबार) गर्न लागेको आन्दोलनमा हेरफेर गरेको छ।
यसअघि तीन ठाउँबाट शक्ति प्रदर्शन गर्ने तयारी थियो । तर, अहिले बसेको नेताहरूको अनौपचारिक बैठकले बिजुली बजारमा मात्रै केन्द्रित हुने निर्णय गरेको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । उनका अनुसार अब बालुवाटार र भद्रकालीबाट र्याली निस्कँदैन।
सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनका लागि राप्रपा नेता–कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुली बजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्ने छन्। र्याली बिजुली बजारबाट बानेश्वरतिर आएर निषेधित क्षेत्र तोड्ने तयारी गरेको तामाङले बताएका छन् ।
उनले सामूहिक गिरफ्तारीबारे अहिले कुनै निर्णय नभएको र आन्दोलनको परिस्थिति हेरेर त्यही हुने बताए। यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो। उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन नसके पनि राप्रपाले आन्दोलनलाई निरन्तरता दिँदैछ। राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेपछि सरकारी पक्ष सैह्य नहुने चेतावनी दिइसकेको छ।
विद्यालय शिक्षा विधेयक २०८१ को छिटो पारित हुनुुपर्नेलगायतका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलन अझ चर्किने संकेत देखिएको छ । शिक्षक महासंघले सरकारले आन्दोलनप्रति गम्भीरता नदेखाएको भन्दै ७७ वटै जिल्लाबाट थप शिक्षकलाई काठमाडौं बोलाउने निर्णय गरेको छ ।
शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भएको छलफलले अपेक्षित नतिजा नदिएपछि महासंघले आन्दोलनलाई नयाँ चरणमा लैजाने रणनीति बनाएको हो । महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीका अनुसार, अब कुनै पनि विद्यालयमा शिक्षक नरहने गरी आन्दोलनलाई राष्ट्रिय रूप दिइनेछ । ‘शिक्षकहरू अब झन् व्यापक रूपमा काठमाडौं आउनुहुनेछ,’ उनले भनिन् ।
शनिबार साँझ भोजपुरको साल्पासिलिछोबाट राजधानी आइपुगेका शिक्षक रविन राईले देशभरबाट गाडी रिजर्भ गरेर शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं आइरहेको जानकारी दिए । ‘अहिले पनि थुप्रै गाडी काठमाडौं छिर्दै छन्,’ उनले भने ।