काठमाडौं । काठमाडौंमा २८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ। मंगलबार अबेर रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो ।
शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ । ‘हामी सहमतिको नजिक पुगेका छौ । भोलि बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्छौं,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौं । वार्ता भोलि टुंगो लाग्छ ।’
उनका अनुसार कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुनेछ । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन । यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन् । जसको लागि सरकारको ८ अर्ब रुपैयाँ खर्च हुने थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।
वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए ।
साथै महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो ।
शिक्षक संघ संगठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।
यी हुन् ९ बुँदेमा रहेका विषय
–विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब
–सामाजिक सुरक्षा कोष
–दुर्गम भत्ता
–ग्रेड समायोजन
–मर्यादा क्रम
–अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था
–निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने ।
–राहत शिक्षक लगायत ।