निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग गरिए के हुन्छ ?

0
498

वैशाख २३ चितवन । हरेक निर्वाचनमा आचार संहिता बिपरीत बालबालीकाको प्रयोग हुने गरेको स्मरण गर्दै यस पटकको निर्वाचनमा चितवनमा बालबालिकाको प्रयोगबारे अनुगमन सुरु भएको छ ।

महिला तथा बालबालिका कार्यालयका प्रमुख शान्ता पौडेलले जिल्लाका सातवटै स्थानीय तहमा टोली परिचालन गरेर अनुगमन गर्न थालिएको बताउनु भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको सहभागितामा बनाइएको समितिमार्फत अनुगमन थालिएको हो । निर्वाचन आचारसंहिताको बुँदा नं ४ ड. मा ‘निर्वाचन प्रचारप्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न र गराउन नहुने’ उल्लेख छ ।

कार्यालय प्रमुख पौडेलको संयोजकत्वमा बनेको अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, भरतपुर महानगरपालिका, शिक्षक महासङ्घ, इन्सेक, जिल्ला बालकल्याण समिति, सिविन नेपाल, बाल सञ्जाल, केन्द्रिय बालकल्याण समिति र पत्रकार महासङ्घका प्रतिनिधि सहभागी छन् ।  आचार संहिता बिपरीत बालबालिकाको प्रयोग भएको पाइएमा निर्वाचन आचार संहिता बमोजिम कारबाहि हुने आयोगले जनाएको छ ।