हुन सकेन सहमतीय सरकार गठन : बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुँदै

0
466

काठमाडौं, १८ जेठ । सहमतीय सरकार गठन हुन नसकेपछि बिहीबारदेखि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । सहमतीय सरकार गठनका लागि दिएको समय सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बहुमतीय सरकारको प्रक्रिया सुरु गर्न आह्वान गर्ने तयारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संसदलाई पत्र पठाएसँगै बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल सुरु गरिसक्नुभएको छ ।

अनौपचारिक छलफलका क्रममा माओवादी केन्द्र, लोकतान्त्रिक फोरमसहित केही साना दलले देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन जनाउने बताइसकेकाले आफ्नो नेतृत्वमा सरकार गठन हुनेमा कांग्रेस सभापति देउवा विश्वस्त हुनुहुन्छ ।

राप्रपाले पनि सरकारमा जानसक्ने संकेत गरेको छ । सभापति देउवा निकट रहेका कांग्रेस नेताहरुका अनुसार चुनावअघि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।

तर एमालेले चितवनको भरतपुरमा रोकिएको मतगणना सुरु नभएसम्म संसद बैठक चल्न नदिने भएकाले बिहीबार संसद बैठक नचल्ने सम्भावना धेरै छ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।