काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशले सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्याङ्क अनुसार चालु आवमा गण्डकी प्रदेशले ५ शलमव ५१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको हो। त्यसपछि बागमती प्रदेशको ५ दशलमव १८ प्रतिशत वृद्धिदर रहने अनुमान छ।
कर्णाली प्रदेशको आर्थिक वृद्धिदरमा गत आवको तुलनामा उल्लेख्य सुधार हुने अनुमान छ। गत आवमा ३ दशलमव २६ प्रतिशतको वृद्धिदर हासिल गरेको कर्णालीले चालु आवमा ४ दशलमव ७४ प्रतिशत वृद्धिदर हासिल गर्ने कार्यालयको अनुमान छ।
कर्णालीपछि लुम्बिनी प्रदेशको वृद्धिदर ४ दशलमव ७० प्रतिशत हुने अनुमान गरिएको छ। उल्लिखित प्रदेशहरूको वृद्धिदर चालु आवका लागि अनुमान गरिएको राष्ट्रियस्तरको ४ दशलमव ६१ प्रतिशतको वृद्धिदरभन्दा बढी हो।
कार्यालयका अनुसार मधेश प्रदेशको वृद्धिदर ४ दशलमव ५० प्रतिशत हुने छ भने कोशी प्रदेशको ३ दशलमव ३४ प्रतिशतको हुने अनुमान छ। चालु आवमा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ३ दशलमव ३२ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ।
अर्थतन्त्रको आकारका हिसाबले सधैँ जस्तै बागमती नै अगाडि रहेको छ । बागमतीले कुल अर्थतन्त्रमा एक तिहाइभन्दा बढी योगदान दिने अनुमान गरिएको छ। कार्यालयका अनुसार चालु आवका लागि मुलुकको कुल अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब हुने अनुमान गरिएकामा बागमतीको मात्र ३६ दशलमव ५२ प्रतिशत योगदान रहने छ।
त्यसपछि कोशी प्रदेशको १५ दशमलव ९० प्रतिशत, लुम्बिनी प्रदेशको १४ दशलमव २३ प्रतिशत, मधेश प्रदेशको १३ दशलमव १६ प्रतिशत, गण्डकी प्रदेशको ८ दशलमव ९८ प्रतिशत योगदान हुने अनुमान छ। सुदूरपश्चिम प्रदेशले ७ दशलमव ०३ प्रतिशत योगदान दिँदा कर्णाली प्रदेशको योगदान ४ दशलमव १९ प्रतिशत हुने अनुमान छ।
गत आवको तुलनामा मुलुकको कुल अर्थतन्त्रमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको योगदान केही घट्ने पाइएको छ। मधेश र बागमतीको भने केही बढ्ने अनुमान छ।
बागमतीवासीले कमाउँछन् धेरै
प्रतिव्यक्ति आम्दानीका हिसाबले बागमती प्रदेशका बासिन्दाले सबैभन्दा धेरै कमाउने पाइएको छ। चालु आवमा यस प्रदेशका बासिन्दाको प्रतिव्यक्ति आय दुई हजार ६०१ डलर पुग्ने अनुमान छ। गत आवमा यस्तो आम्दानी दुई हजार ४९२ डलर थियो।
बागमतीपछि गण्डकी प्रदेशका बासिन्दाको प्रतिव्यक्ति आय सबैभन्दा धेरै हुने पाइएको छ। चालु आवमा यहाँका स्थानीयको आम्दानी एक हजार ६२० डलर पुग्ने अनुमान छ। बागमती र गण्डकीबाहेक बाँकी सबै प्रदेशको प्रतिव्यक्ति आम्दानी राष्ट्रियस्तरको प्रतिव्यक्ति आम्दानीभन्दा कम छ। चालु आवका लागि कार्यालयले नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ४९६ पुग्ने अनुमान गरेको छ।
तेस्रो स्थानमा रहेको कोशी प्रदेशका स्थानीयको प्रतिव्यक्ति आम्दानी एक हजार ४०१, लुम्बिनी प्रदेशको एक हजार २०१, सुदूरपश्चिम प्रदेशको एक हजार १५३, कर्णाली प्रदेशको एक हजार ८९ डलर पुग्ने अनुमान छ। सबैभन्दा कम प्रतिव्यक्ति आम्दानी भने मधेश प्रदेशको हुने अनुमान छ। मधेशका बासिन्दाको प्रतिव्यक्ति आम्दानी केवल ९३२ डलर हुने अनुमान छ।
मधेशका स्थानीयको प्रतिव्यक्ति आयको तुलनामा बागमती प्रदेशवासीको आयमा करिब तीन गुणाको अन्तर छ।
कृषिकै योगदान बढी
चालु आवमा पनि बागमती प्रदेशबाहेक बाँकी सबै प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रकै योगदान सबैभन्दा बढी हुने अनुमान गरिएको छ। बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी हुने छ।
त्यसपछि घरजग्गासम्बन्धी कारोबारको सेवाको हिस्सा बागमतीमा दोस्रो स्थानमा छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा हुने अनुमान छ।







