२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

भिजिट भिसा प्रकरणले उद्योग समितिमा लफडा

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा लफडा भएको छ ।

शुक्रबार बिहान बसेको बैठकमा ‘द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावना’का सम्बन्धमा छलफल थियो । त्यसक्रममा रास्वपा सांसद गणेश पराजुली आफ्ना धारणा राख्दै थिए ।

उनले भिजिट भिसा प्रकरणको विषय उठाउँदै राज्यको मिलेमतोमा नेपाली नागरिकहरु बेचिनुपरेको र आफुहरुले छानविनको माग गर्दा अन्य दलका सांसदहरु निरीह बनेको टिप्पणी गरेका थिए ।

तर, अन्य दलका सांसदले समितिको छलफलको विषयभन्दा बाहिर गएर आफ्ना कुरा राखेको भनेर प्रतिवाद गरेपछि सांसदहरूबीच हो–हल्ला र टेबुल ठोकाठोकको अवस्था सिर्जना भएको हो ।

रास्वपा सांसद पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने पनि माग गरेका थिए । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दामात्रै हो ? भन्दै पराजुलीले प्रश्न गरेपछि सत्तापक्षका सांसदहरूले आपत्ति जनाए ।

नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए । विषयवस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै उनले रुलिङको माग गरे ।

विवाद भएपछि समिति सभापति अव्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न आग्रह गरे । तर, सांसद पराजुलीले आफ्नो समयभित्र विषयवस्तु राख्दा आपत्ति हुनुपर्ने कारणको जवाफ खोजे । त्यसपछि पुन कांग्रेस सांसद थापाले आफूहरूलाई निरीह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ मानवतस्करीको विरोध आफूहरूले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो ? भन्दै आक्रोशित भए । पराजुलीले मानवतस्करीविरुद्ध सबैको एकमत भए छानबिन समिति गठन गर्न चुनौती दिए ।

पुनः विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले विषयवस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका विषयमा छानबिनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राखे ।

त्यसपछि आफूले बोलेको विषयमा नै छानबिन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाए । त्यसपछि फेरि विवाद भएपछि सभापति खानले विषयवस्तुमा बोल्न आग्रह गरे ।

यता सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति नै गठन गरेको छ । समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।