ऋषिकेशजंग शाह नेविसंघ पूर्वउपाध्यक्ष देखी जेलयात्रा सम्म !

0
757

असार २७ काठमाडौ । जति ठूलो पहुँच भएपनि गलत गरेपछि मान्छे कुनै दिन सजायको भागिदार भएरै छाड्छ । नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको हकमा यही कुरा लागू भएको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य रहेका शाह गत बुधबारदेखि प्रहरी हिरासतमा छन् । कांग्रेसमा शेर बहादुर देउवा गुटका विश्वासिला व्यक्तिका रुपमा चिनिएका उनी देउवा प्रधानमन्त्री भएकै बेला प्रहरी हिरासतमा पुगेका हुन् ।
महानगरीय अपराध महाशाखाले उनीलगायत चार जनालाई पक्राउ गरेको छ । अमेरिका र जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले शाहलाई हत्कडी लगाएको छ । उनीविरुद्ध एक करोड ८६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ । शाहबाट ७६ जना पीडित छन् । यो ठगी प्रकरणको कहानी निकै रमाइलो छ ।
शाहलाई कांग्रेसमै आवद्ध सुनिल प्रजापतिले केही वर्षअघि रक्षा वैद्यलाई चिनजान गराइदिए । काठमाडौंकी स्थानीय वैद्यसँग शाह छोटो समयमै नजिकिए । उनीहरु प्रेमी–प्रेमिका भए । तर, बिहे भने गरेनन् । वैद्यले प्रजापतिसँग बिहे गरिन् ।
उनीहरुले पैसा कमाउने योजना बनाए । त्यसका लागि वैद्यलाई अमेरिकन दूतावासमा कार्यरत कर्मचारी भएको नाटक गरियो । त्यसपछि शाहले सल्यानलगायत जिल्लामा युवा÷युवतीहरुलाई अमेरिका र जापान पठाउने भन्दै पैसा उठाउन थाले । नेविसंघका नेताले नै भनेपछि धेरै विश्वासमा परे । सोहीअनुसार उनीहरुले पैसा बुझाए । तर, विदेश उडाउन सकेनन् । पीडितहरुले शाहलाई किचकिच गर्न थाले ।
यही बीचमा वैद्यलाई नेपालबाट भगाए । त्यसपछि महानगरीय अपराध महाशाखामा गएर आफैं उजुरी दिए । उनले प्रहरीमा आफ्नो समेत रकम ठगी गरेको भन्दै उजुरी दिएका थिए । वैद्य भागेपछि आफैंले उजुरी दिएकाले पीडितहरुलाई पनि बहाना गर्न मिल्ने भएकाले उनले यस्तो तरिका अपनाएका थिए ।
तर, आफूले बुनेको जालमा उनी आफैं परे । गत साता महाशाखाले फरार रहेकी वैद्यलाई पोखराबाट पक्राउ गरेर ल्यायो । पक्राउ परेपछि उनले भनिन्,‘मैले त एक लाख १५ हजार मात्र लिएको हो, बाँकी ऋषिसँगै छ ।’

त्यसपछि महाशाखाका एसपी श्याम ज्ञवालीले शाहलाई समेत हत्कडी लगाउन आदेश दिए । किनकि विदेश पठाउने भन्दै पैसा र पासपोर्ट उनै शाहले लिएका थिए । कुनै लोभ नभई त उनले पैसा उठाएका थिएनन् । त्यसमाथि पक्राउ परेकी वैद्यले शाहकै योजनाअनुसार आफू अमेरिकन दूतावासमा कार्यरत कर्मचारी भएको भनेर नाटक गरेको बताइन् ।

पीडितहरुले प्रहरीमा घेरिसकेका थिए । त्यसकारण शाहलाई छाड्न सक्ने अवस्था थिएन । बुधबार नै प्रहरीले अदालतमा पेश गरी उनलाई ठगी मुद्दामा कारबाही अघि बढाएको छ । ठगिनेमा धेरै नेविसंघ र तरुण दलका कार्यकर्ता छन् ।
प्रहरीले रक्षाका श्रीमान सुनिल र सुनिलका साथी महेश्वरलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुनिल र महेश्वरको पनि त्यसमा मिलेमतो रहेको प्रहरी दाबी छ । ठगीको पैसाबाट उनीहरुले मोजमस्ती गर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन् ।
ऋषिजंग पनि गत वर्ष त्यही पैसाबाट नेविसंघका नेताहरुलाई बानेश्वरको एक रेष्टुरेन्टमा भव्य पाटी दिएका थिए । पक्राउ परेपछि उनले देउवालाई भनेर बढुवा रोकिदिने भन्दै प्रहरीलाई धम्की दिन लागेका छन् । पीडितहरु भने उनलाई कडा कारबाहीको माग गर्दै दिनहुँ टेकु धाउने गरेका छन् ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार वैद्यसँगको सम्बन्ध नै उनको ठगीको प्रमुख कारण देखिन्छ । नेविसंघकै एक कार्यक्रममा शाहले वैद्यलाई भेटेका थिए । मोजमस्तीका लागि धेरै पैसा चाहिने भएपछि उनीहरुले त्यसरी गलत बाटो अपनाएर पैसा कमाएका हुन् ।(दृष्टि न्युजबाट )