राजधानीका सडकका खाल्टा छिटो पुर्न फेरी अर्को निर्देशन !

0
479

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडकका खाल्टा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएको छ ।
कार्यालयको नेतृत्वमा विहिबार बिहान नयाँ बानेश्वर–पुरानो बानेश्वर–गौशाला–चावहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा चावहिलमा १० वटा ठूला खाडल अझै पुर्न बाँकी रहेको भेटिएको थियो ।

अनुगमन समूह जोरपाटीबाट फर्केर चावहिल–गोपीकृष्ण हल–सुकेधारा–नारायण गोपाल चोक–गोल्फुटारसम्म, नारायण गोपाल चोकबाट सामाखुसी–बालाजु, फेरि नारायण गोपाल चोकबाट महाराजगञ्ज–लाजिम्पाट–लैनचौर–रत्नपार्क–सहिदगेट–त्रिपुरेश्वर–टेकु–थापाथली–बबरमहलसम्म पुगेको थियो ।

अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरे र भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की नेतृत्वको समूह सहभागी थियो । अनुगमनका क्रममा केही स्थानका खाल्टाखुल्टी भने राम्रोसँग पुरिएको भेटिएको कार्यालयले जनाएको छ ।

लैनचौरबाट नारायण गोपाल चोकसम्मको सडकमा खानेपानीको पाइप फुटेर पानी आएको, त्रिपुरेश्वर–टेकु सडकका ठाउँठाउँमा पानी जमेर पोखरी बनेको, टेकुको दुवै भागका सडकमा विभिन्न सामग्री राखिएकाले छिटो सफा गर्न निर्देशन दिइएको छ ।

अनुगमनमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय, सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, काठमाडौँ उपत्यका विकास प्राधिकरण, खानेपानी तथा ढल निकास विभागलगायतका सरोकार भएका कार्यालयका अधिकारीको पनि सहभागिता थियो ।

त्रिपुरेश्वर–टेकु सडक कालोपत्रेका लागि तयार भएकाले भदौ दोस्रो सातापछि नै पूरा गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ । उपत्यकाका सडकमा खाल्टा भएका कारण एक छात्राको मृत्यु भएपछि साउन १ गते प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्टा पुर्न सरोकार भएका कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि खाल्टा पुर्ने कामले तीव्रता पाएको छ । साउन १५ सम्ममा उपत्यकाका सडकमा भएका ठूला खाल्टा पुरिसकिने भएको छ । आठ मिटर चौडाभन्दा ठूला खाल्टा सडक विभाग, विस्तार आयोजना, मध्यमाञ्चल सडक निर्देशनालय र डिभिजन सडक कार्यालयले पुरिरहेका छन् भने
चौडाइमा आठ मिटरभन्दा साना सडक पुर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ ।