काठमाडौं । रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानले हत्या स्वीकार गरेका छन् । शरीरमा आगो लगाएर घाइते भएको अवस्थामा पक्राउ परेका पासवानले रुवीको हत्या आफूले गरेको स्वीकार गरेका हुन् ।
बुधबार प्रहरीले पासवानलाई रौतहटको गौर नागरपालिका–९ स्थित सिरसियाबाट नियन्त्रणमा लिएको हो । गौरकै पासवानले रुवीलाई आफूले बस्दै आएको कोठामा शनिबार हत्या गरेर सुटकेसभित्र शव राखेर सडकमा फालेका थिए । पासवानले बुधबार आफूले पनि आत्महत्या गर्ने प्रयास गरेका थिए । पासवानले छातीको दाहिनेतिर रुवीकै तस्वीरको ट्याटु बनाएका छन् । दाहिने हातमा रुवीकै नाममा ट्याटु खोपेका छन् ।
उनले आफूले रुवीलाई मन पराए पनि परिवारले अर्कै केटासँग विवाह गरिदिएको दाबी गरेका छन् । रुवीको हत्यापछि उनले भिडिओ रेकर्ड गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । पासवान विवाहित हुन् । उनकी पत्नी घरमै छिन् । रोजगारीका लागि मलेसिया गएका उनी केही समय पहिले मात्र फर्किएका थिए ।
आफ्नै शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । आगो लागाउनुअघि पासवानले रुवीको हत्याबारे केही कारण समेत खुलाएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियो रेकर्डमा उनले भनेका छन्, ‘स्कुल पढ्दादेखिकै हाम्रो प्रेम सम्बन्ध थियो । आठ कक्षादेखिको प्रेम सम्बन्ध म गरिब भएकै कारण टुट्यो । मेरो प्रेम सम्बन्ध उजाडिनुमा रुवीकै आमाको भूमिका छ ।’
पासवानले आफ्नो भिडिओमा रुबी प्रेमिका मात्र नभएर श्रीमती नै भएको दाबी गरेका छन् । आफूहरूले नेपाल र भारत दुवैतिर अदालती विवाह गरेको उनको भनाइ छ । तर रुबीकी आमाले आफूहरूलाई छुटाएको पासवानले बताएका छन् ।
रुबीको हत्याअघि आफूहरुबीच लामो कुराकानी भएको र दुवै जना बाँच्न नसक्ने अवस्थामा पुगेको समेत उनको भनाइ छ । पासवनले भिडिओमा भनेका छन्, ‘म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् ?’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीँ छ ।’
हत्याको अवस्थामा भने विभिन्न पटक भएको भेटमा मनमुटाब हुँदा मर्छु भन्ने कुरा गर्न थालेपछि आफैले हत्या गरेको उनले बताएका छन् । घटनापछि फरार रहेका पासवानले बुधबार भने प्रहरीले सजाय दिनुभन्दा कठोर सजाय आफूले आफैलाई दिने र प्रेमको परिभाषा स्थापित गर्न आत्महत्या गर्ने प्रयास गरेको बताएका छन् ।
आगो लागेका पासवानको अवस्था पनि गम्भीर देखिएपछि प्रहरीले उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको छ । ‘उनको शरीर जलेको छ, सामान्य बोल्न सक्ने अवस्थामा छन्’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले भने, ‘सुरुमा स्थानीय अस्पतालमा लगको थियौँ, यहाँ उपचार नहुने भएपछि काठमाडौँ पठाइएको छ ।’
२६ वर्षकी रुवी सामान लिन गौर जान्छु भन्दै आमा र छोरालाई डेरामा छाडेर निस्किएकी थिइन् । भारतको मुजफ्फरपुरका शिवसागर सुडीसँग विवाह गरेकी रुवी छोरो पढाउनकै लागि रौतहटमा डेरा लिएर बस्दै आएकी थिइन् । उनको १३ वर्ष पहिले नै विवाह भएको थियो ।
तर लक्ष्मण पासवानसँग पनि पहिलेदेखि नै सम्पर्कमा रहेको खुलेको छ । त्यस दिन पनि उनी लक्ष्मणलाई भेट्न गएकी थिइन् । त्यही क्रममा हत्या भएको खुलेको छ । प्रहरीले भने पासवानको उपचारपछि मात्रै बाँकी अनुसन्धान अगाडि बढ्ने जनाएको छ ।









