काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह नगरेको भए आफ्नो अवस्था दयनीय हुने बताए । समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट अलग नभएको भए आफ्नो र पार्टीको अवस्था कस्तो हुन्थ्यो भन्ने कुरा व्याख्या गर्नु नपर्ने उल्लेख गरे ।
उनले एमाले छोड्ने निर्णय जायज भएको र विद्रोहको आलोचना गर्नेहरूको कुनै महत्त्व नभएको जिकिर गरे । नेपालले एमाले छोडेर पार्टी गठन गर्दा सबैको साथ नपाए पनि आफूहरूले सही कदम चालेको बताए । उनले भने, ‘हामीले विद्रोहको आँट नगरेको भए हाम्रो हालत खराब हुन्थ्यो । विद्रोहको औचित्य नदेख्नेहरूको कुराको कुनै अर्थ छैन ।’
उनले मेहनत र एकताले नेकपा एकीकृत समाजवादी २०८४ को निर्वाचनमा पहिलो शक्तिको रूपमा स्थापित हुने दाबी गरे । ‘कर्णाली र सुदूरपश्चिममा हाम्रो प्रभाव बढ्दै छ। मधेश प्रदेशमा पनि हामी बलियो बन्दैछौं । सबै मिलेर काम गरे पहिलो शक्तिको रूपमा उदाउन सकिन्छ,’ उनले भने ।
नेपालले पार्टी एकीकरणबारे स्पष्ट पर्दै कुनै पनि पार्टीसँग तत्काल विलय नहुने बताए । ‘विचार, सिद्धान्त, नीति र विश्वास मिल्नेहरूसँग मात्र सहकार्य हुन्छ। समाजवादी मोर्चालाई विस्तार गरी वामपन्थी एकता अगाडि बढाउँछौँ,’ उनले प्रष्ट्याए । पतञ्जली जग्गा प्रकरणमा आफूमाथि लगाइएको आरोपबारे उनले भने, ‘ममाथि बिना आधार मुद्दा लगाइएको छ । हदबन्दीभन्दा बढी जग्गा दिने र बिक्री गर्न दिने काममा भ्रष्टाचार भएको भनिएको छ, तर कानूनले नियमनको व्यवस्था गरेको छ । सरकारले सूचित आदेशमार्फत हदबन्दीको जग्गा राख्न स्वीकृति दिन सक्छ ।’ नेपालले यो मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा लिएको बताए ।









