काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको अस्थिरताका कारण नेपाली सेनाको सुरक्षामा शिवपुरीमा बस्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तीन दिनभित्र भव्यताका साथ घर फर्काउने तयारी भइरहेको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले दाबी गरेका छन् । भदौ २४ गतेदेखि शिवपुरीमा बस्दै आएका ओलीलाई नेपाली सेनाको सुरक्षा घेराबाट बाहिर ल्याउने तयारी भइरहेको हो ।
देशमा नागरिक सरकार गठन भई कांग्रेस-एमाले गठबन्धनको सरकार ढलिसके पनि शेरबहादुर देउवालगायतका शीर्ष नेताहरू अझै घर फर्किने वातावरण बनिसकेको छैन । यसैबीच, नेता बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीको गृहप्रवेशको घोषणा गरेका हुन् । बस्नेतले लेखेका छन्, ‘हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र सानदार ढंगले गृहप्रवेश गराउँदै छौँ । यसका लागि सुरक्षा निकायसँगको समन्वय र आवास व्यवस्थाको तयारी तीव्र गतिमा भइरहेको छ ।’
सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले आन्दोलन विजय र सफलता नभई नेपालले जेनजी पुस्ताको नाममा हारेको दिन भएकोले बाजा नबजाइने स्पष्ट पारेका छन् । उनका अनुसार, यस आन्दोलनले सयौँ करोडको सम्पत्ति नष्ट गरेको र जनताको आँखामा आँसु ल्याएको छ । उनले अहिले बाजा बजाउने र दीपावली गर्ने समय नभएको बताएका छन् ।
बस्नेतले नेतृत्व परिवर्तनको बहसलाई “बेमौसमको बाजा” सँग तुलना गर्दै वर्तमान अवस्था पुनर्निर्माण र ठण्डा दिमागले सोच्नुपर्ने बेला भएको जिकिर गरेका छन् । उनले दलहरूले गम्भीर गल्ती नगरेको र समयअनुसार परिवर्तन हुनुपर्ने धारणा राखेका छन् । ‘ओरालो लागेको बाघलाई मृगले पनि खेद्छ’ भन्ने उखान प्रयोग गर्दै बस्नेतले अहिले शीर्ष नेताहरूको विकल्प खोज्ने वा पार्टी पुनर्संरचना गर्ने बहस गर्नु अनुपयुक्त रहेको बताएका छन् ।









