२०८३ बैशाख ८ गते मंगलवार
२०८३ बैशाख ८ गते मंगलवार

शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी

काठमाडौं । सरकार जेनजी आन्दोलन दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणको अनुसन्धानको घेरामा परेका प्रमुख राजनीतिक दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्नेसम्बन्धी तयारीमा जुटेको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूको नाम राहदानी रोक्का गर्ने वाचलिस्टमा परेको स्रोतले जनाएको छ ।

अन्तरिम सरकारका निकट एक उच्च अधिकारीका अनुसार, राहदानी रोक्का गर्नुपर्ने विषयमा अध्यागमन र राहदानी विभागसँग छलफल सम्पन्न भइसकेको छ । प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको जनाइएको छ ।

‘पासपोर्ट रोक्का गर्न कानुनी प्रक्रिया, प्रमाण र आधार चाहिन्छ । हामी परामर्शपछि प्रक्रिया अघि बढाएका छौं,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो ।

ओली, देउवा, लेखक वाचलिस्टमा, सुरुङ र जलेका नोट भेटिएको दाबी

जेनजी आन्दोलनको क्रममा जलेका घरहरूमा भेटिएको नगद रकम, सुरुङ जस्तो संरचना र विदेशी मुद्रा सम्बन्धी रिपोर्टले नेताहरूविरुद्ध थप अनुसन्धानको बाटो खोलेको छ ।

सम्पत्ति शुद्धीकरण विभागले कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवाको बूढानीलकण्ठस्थित निवासमा मुचुल्का उठाइसकेको छ ।

विभागले जलेका नोट, डलर र सुरुङ रहेको दाबी गरेको थियो । यद्यपि देउवाको सचिवालयले यसलाई अस्वीकार गर्दै ‘पानी ट्यांकी’ मात्र रहेको प्रष्टिकरण दिएको छ ।

त्यस्तै, माओवादी अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पनि विभागको टोली पुगेर मुचुल्का उठाइसकेको छ । यी दुवै घरहरू प्रदर्शनको क्रममा जलेका थिए ।

२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा २१ जनाको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठ्दै आएको छ ।

सरकारले उक्त घटनाको छानबिनका लागि बनाएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले पनि शपथपछि काम सुरु गरिसकेको छ । आयोगसँग समन्वय गर्दै राहदानी रोक्का प्रक्रिया अघि बढाउने तयारी गरिएको स्रोतको भनाइ छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।