काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले आफैं अध्यक्ष रहने गरी ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि असोज ७ गते आयोगमा निवेदन दर्ता गराएका हुन् ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार, साम्पाङको दलसँगै चालु आर्थिक वर्षमा दुई अन्य नयाँ दल दर्ताका लागि पनि निवेदन आइसकेका छन् ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संयोजक रहने गरी ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि असोज ९ गते आयोगमा निवेदन दिएका छन् । त्यसअघि साउन २७ गते ‘उज्यालो नेपाल पार्टी’ नामक दल दर्ताका लागि पनि निवेदन परेको थियो ।
निर्वाचन आयोगका अनुसार, चालु आर्थिक वर्षमा दल दर्ताका लागि परेको तीनवटा निवेदनमाथि हाल जाँचबुझ र अध्ययन प्रक्रिया अगाडि बढाइएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार आवश्यक कागजात पुगे÷नपुगेको, विवरण सुधार गर्नुपर्ने भए निबेदक पक्षलाई पत्राचार गरेर परिमार्जनको मौका दिने व्यवस्था छ ।
दर्ताका लागि निवेदन परेपछि आयोगले त्यसको प्रक्रिया ४५ दिनभित्र पूरा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । आयोग स्रोतका अनुसार, यदि सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा मिलेको खण्डमा दल दर्ता प्रक्रिया अन्तिम चरणमा लैजाने तयारी छ ।
नयाँ राजनीतिक विकल्पको खोजी भइरहँदा स्वतन्त्र र नयाँ अनुहारहरूको दल गठन प्रक्रिया तीव्र हुँदै गएको देखिन्छ ।









