काठमाडौँ महानगरपालिकाले अतिक्रमणमा परेका २३ अर्ब मूल्य बराबरको २०८ रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको छ ।
महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी गराएका हुन् ।
आफूले महानगरको नेतृत्व लिए यता अतिक्रमणमा परेका उक्त मूल्य बराबरको सार्वजनिक जग्गा फिर्ता गरी सार्वजनिक उपयोग मै ल्याइसकेको मेयर साहले बताएका छन् ।
‘हामी काठमाडौँ महानगरमा आए पछि २३ अरब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ, हाम्रो लक्ष्य करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना अतिक्रमित जग्गा फिर्ता ल्याउने लक्ष्य महानगरको रहेको,’ उनले बताएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही नीति अनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहरेका महानगरले जनाएको छ ।
फिर्ता गरिएका ती जग्गाहरूलाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलहरूका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेका उनले बताए ।
सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्राथमिकताका साथ अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीतिगत आधार मानी मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको र समितिले भोलिदेखि कार्य प्रारम्भ गर्ने महानगरले जनाएको छ ।
