काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको आज बिहान अज्ञात समूहले गोली हानी हत्या गरेको छ । ७३ वर्षीय साहको बिहान २ बजेतिर हत्या भएको हो ।
गाउँको पूर्वपट्टि रहेको मन्दिरमा कुटी बनाएर एक्लै बस्दै आएका पुजारी साहलाई अज्ञात समूहले सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । घटनाबारे जानकारी पाएलगत्तै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा गोलीका दुईवटा खोका फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताए । उनले सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि जाँच तीव्र बनाइएको जानकारी दिए ।
