चुनाव सम्म माओबादीसंगको सहकार्य जारी : काँग्रेस ।

0
624

असोज २३ काठमाण्डौं । विभिन्न दलसँग गठबन्धन गर्ने प्रयास गरिरहेको नेपाली कांग्रेस सत्तामा चाहिँ चुनावअघि माओवादी केन्द्रसँगको सहकार्य परिवर्तन नगर्ने मनस्थितिमा रहेको एक नेताले बताएका छन्।
माओवादी केन्द्रले प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने सहमति गरे लगत्तै रुष्टजस्तो देखिएको कांग्रेसले अन्य दलसँग गठबन्धनको प्रयास थालेको छ।
उत्क प्रयासलाई कतिपयले सरकारबाट माओवादी केन्द्रको सम्भावित बहिर्गमनका रुपमा हेरेका थिए।
तर प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न चुनाव र त्यसपछि बन्न सक्ने दलीय समीकरणका लागि मात्रै पछिल्लो तालमेल भएको कांग्रेस नेताहरु बताउँछन्।

वामपन्थी दलबीच एकताको सहमति भए लगत्तै लोकतान्त्रिक भनिएका विभिन्न दलसँग गठबन्धन गर्न कांग्रेससहितको संयुक्त कार्यदल बनाइएको छ।

राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरे कांग्रेसलाई सरकारमा रहिरहन आवश्यक सामान्य बहुमत पुर्‍याउन माओवादी केन्द्रको साथ नभए पनि हुन्छ।

तर कांग्रेसका कतिपय नेताले माओवादी केन्द्रलाई सत्ताबाट तत्काल बिदा गर्ने मनस्थितिमा आफूहरु नरहेको बताएका छन्।
त्यस्तैमध्येका एक नेता प्रकाशशरण महतले भने, चुनाव आइसक्यो, अहिले चाहिँ प्रधानमन्त्रीजीले कुनै फेरबदल गर्ने कुरा छैन। चुनाव त प्रधानमन्त्री शेरबाहदुरजीकै सरकारले नै गर्छ।

माओवादी केन्द्रले पनि चुनाव सुनिश्चित गर्न भन्दै त्यसबेलासम्म आफूले यही सरकारलाई साथ दिने बताउँदै आएको छ।
त्यसो हो भने कांग्रेसले बनाउन लागेको भनिएको गठबन्धन कुन प्रयोजनका लागि हो त ?
जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिने नेता महतले भने, पछिसम्म सँगै बढौं भन्ने मनसायका साथ हो। चुनावमा पनि सम्भव भएसम्म सहमति गरेर जाने र पछि पनि सँगै हिँडौँ भन्ने छ।
सम्भावित गठजोडमा सहभागी हुने अपेक्षा गरिएका दलहरुबीच आसन्न निर्वाचनमा सिट बाँडफाँटलाई लिएर तीव्र मतभेद देखिएकाले गठबन्धनको प्रयासले औपचारिकता पाउन ढिलाइ भइरहेको कतिपयको विश्वास छ।