२३ असोज तनहुँ, । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताएकी छन् । गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । यस महत्वपूर्ण अवसरमा एकीकरण अभियानका महानायक पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने उनको भनाई छ । राष्ट्रपति भण्डारीले पूर्वीय दर्शनले अङ्गीकार गरेका मानवीय मूल्य र मान्यताको प्रचार उच्च नैतिकतायुक्त मानव समाजको निर्माण, परोपकारी भावनाको विकास एवं स्वच्छ र शान्त जीवन पद्धति विकास गर्न धार्मिक महोत्सव फलदायी हुने उहाँले विश्वास व्यक्त गरीन् ।
यसै प्रसंगमा आफ्ना पूर्वजहरु पाण्डे गोरखाबाट बसाइँ–सराइ हुँदै भोजपुर गएको ऐतिहासिक तथ्यको स्मरण गर्दै राष्ट्रपति भण्डारीले पुर्खाको थातथलोमा पुनः एकपटक भेटघाट गर्ने अवसर मिलेकोमा हर्षको अनुभूति भएको बताईन् । एकीकरणको अभियानदेखि नै साहस, वीरता, एकता र जातीय सहिष्णुताको ऐतिहासिक उदाहरण प्रस्तुत गरिसकेको गोरखा एउटा गौरवशाली भौगोलिक क्षेत्रका रुपमा नेपालको राजनीतिक भूगोलमा सदा अङ्कित रहनेछ भन्ने विश्वास लिएको पनि उनको भनाई छ । शिक्षा, शान्ति र समुन्नतिको महत्वपूर्ण आधार भएको र चेतना र जागरणको माध्यम पनि शिक्षा भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मौलिक मानव अधिकारका रुपमा रहेको शिक्षाको पहुँच सबैमा पु¥याउनुपर्नेमा जोड दिईन् ।
स्थानीय तहको निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको छ भने चाँडै नै प्रदेश र संघीय संसद्लगायत निर्वाचन हुन गइरहेको बताउँदै राष्ट्रपति भण्डारीले यी सबै निर्वाचन सम्पन्न भइसक्दा नेपालको लोकतान्त्रिक प्रणाली र राज्य पुनःसंरचना प्रक्रियाले महत्वपूर्ण इतिहास रच्ने महसुश गरेको बताईन् ।