काठमाडौं । जेनजी आन्दोलनमा दमन र गोली चलाइएको घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाउँदै बयानका लागि उपस्थित हुन आग्रह गरेको हो ।
आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिइसकेको छ । लेखकले आयोगसमक्ष आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन् । लेखकको बयान सकिएलगत्तै आयोगले ओलीलाई पत्र पठाएको स्रोतले जनाएको छ । यसबाहेक आयोगले सुरक्षा निकायका तत्कालीन प्रमुखहरू, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायतसँग पनि बयान लिइसकेको छ ।
तत्कालीन सरकार प्रमुखको हैसियतले जेनजी आन्दोलनको क्रममा भएको गोलीकाण्ड र दमनको जिम्मेवारीबारे स्पष्ट पार्न ओलीसँग बयान लिन लागिएको हो । तर ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा आफूले गोली चलाउने आदेश नदिएको बारम्बार दोहोर्याउँदै आएका छन् । उनले आयोगमा बयान दिनु नपर्ने भन्दै ‘सार्वजनिक रूपमै बयान दिएको छु, फेरि किन जाने ?’ भन्ने अडान पनि व्यक्त गर्दै आएका छन् ।








