२०८३ जेष्ठ १८ गते सोमबार
२०८३ जेष्ठ १८ गते सोमबार

कांग्रेसको विशेष महाधिवेशन आजदेखि

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र रस्साकस्सीका बिच आजदेखि राजधानीमा ‘विशेष महाधिवेशन’ सुरु हुँदैछ । पार्टीको आधिकारिक संस्थापन पक्षले औचित्य नभएको भन्दै खारेज गरे पनि विशेष महाधिवेशन पक्षधर समूहले पूर्वघोषित कार्यक्रम अनुसार नै भृकुटीमण्डपमा महाधिवेशन गर्न लागेको हो ।

काठमाडौँको भृकुटीमण्डपस्थित खुला चौरमा दिउँसो १ः०० बजे महाधिवेशनको औपचारिक उद्घाटन हुनेछ । यसलाई असन्तुष्ट पक्षले आफ्नो शक्ति प्रदर्शनको रूपमा समेत लिएको देखिन्छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार, उद्घाटन सत्रका लागि ५० जना विशिष्ट अतिथि अटाउने मञ्च र सहभागीहरूका लागि ६ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको छ ।

कार्यक्रम स्थललाई कांग्रेसको चारतारे झण्डा, ब्यानर र स्वागत द्वारहरूले झकिझकाउ बनाइएको छ । उपत्यकाका विभिन्न स्थानबाट निस्कने र्‍यालीलाई व्यवस्थित रूपमा भृकुटीमण्डपमा उतार्ने तयारी आयोजकले गरेको छ । उद्घाटन सत्रको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ । महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन ।

महाधिवेशनमा भाग लिन देशैभरबाट कांग्रेस कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् । आयोजक समितिका अनुसार अधिकांश प्रतिनिधिहरूको उपस्थिति सुनिश्चित भइसकेको छ ।

आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक रमेश धमलाले दिएको जानकारी अनुसार, हालसम्म ३ हजार ६०० प्रतिनिधिका लागि काठमाडौँका विभिन्न स्थानमा आवासको प्रबन्ध मिलाइएको छ । थप प्रतिनिधि आएमा तत्काल व्यवस्थापन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । प्रतिनिधिहरूले १ हजार दर्ता शुल्क बुझाएपछि खानाको कुपन र महाधिवेशन सामग्रीसहितको झोला प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

उद्घाटन सत्र खुला चौरमा भए पनि बन्दसत्र भने भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ । बन्दसत्रमा पेस हुने नीतिगत प्रस्ताव र दस्तावेजहरूका विषयमा भने आयोजकले हालसम्म गुपचुप नै राखेको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।