झापामा आन्दोलनले उग्र रुप लियो , बिर्तामोडमा कफ्र्यू , मेयरको गाडी तोडफोड, पूर्वसांसदको मोटरसाइकल जल्यो ।

0
319

१० कात्तिक, झापा । झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ । आज दिउसो साढे १ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म कफ्र्यू जारी गरिएको उनले बताए ।अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले आज बिहानैदेखि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले कफ्र्यू जारी गरेको हो ।

दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए । अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको सत्यतथ्य छानविन मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ ।

आन्दोलनकारीको समूहले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको बा.१० च ३०६१ नम्बरको निजी गाडी तोडफोड गरेका छन् । उनको घरमा समेत ढुंगामुढा प्रहार भएको छ ।

बिर्तामोड नगरपालिकाको मे १ झ. १२१ नम्बरको गाडी पनि तोडफोड भएको छ । मेयरका छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक समेत अान्दोलनकारीले जलाइदिएका छन् । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल अान्दोलनकारीले जलाएका छन् । उनीहरूले मुक्तिचोक आसपास जडान गरिएका सीसी क्यामेरा फुटाएका छन् ।  आन्दोलन नेतृत्वविहीन भएकाले उग्र रुप लिन पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।