काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सहिद दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत फेरी कसैले सहिद बन्नु नपरोस् भन्ने सन्देश दिएका छन् ।
उनले ८५ वर्षअघि राणा शासनविरुद्ध सङ्घर्ष गर्दै क्रूर हत्याको सिकार भएका सहिद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झना गर्दै सहिदका सपना पूरा गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले गत भदौको जेनजी आन्दोलनलाई पनि जोड्दै भनेका छन्, ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो । अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौँ ।
हेर्नुस् उनको सन्देश
राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ ।
त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन ।
यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्यो ।
८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।
पटक-पटक नेपाली जनता सहिद भए तर सहिदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो ।
अहिले हामी ती सहिदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौँ ।
लामो समयसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।
राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ ।
यी सहिदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन ।
अब समय आएको छ- सहिदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पुरा गर्ने ।
सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।
यस पटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो ।
फेरी कसैले सहिद बन्नु नपरोस्!
सम्पूर्ण सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली,सम्मान ।









