२०८३ असार ३१ गते बुधबार
२०८३ असार ३१ गते बुधबार

चुनावी घोषणापत्रको अन्तिम तयारीमा दलहरू, कसले कस्तो बनाउँदैछ ?

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरू आ–आफ्ना चुनावी घोषणापत्र अन्तिम चरणमा पुर्‍याउने तयारीमा जुटेका छन्। घोषणापत्रमार्फत मतदातासामु नीति, कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्ने रणनीतिअनुसार दलहरूले उच्चस्तरीय समिति तथा कार्यदल गठन गरी मस्यौदा तयार गरिरहेका छन्।

कांग्रेस : गगन थापा संयोजक, विश्वप्रकाश शर्माको नेतृत्वमा परिचालन समिति
नेपाली कांग्रेसले सभापति गगन थापा संयोजक रहने गरी घोषणापत्र लेखन समिति गठन गरेको छ। साथै, उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाइएको छ। कांग्रेसले घोषणापत्रमार्फत आर्थिक पुनरुत्थान, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्ने तयारी गरेको जनाइएको छ।

एमाले : केपी शर्मा ओलीको नेतृत्वमा लेखन समिति
नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेखन समिति गठन गरेको छ। समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहित प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्। एमालेले राष्ट्रिय हित, विकास र स्थायित्वलाई केन्द्रमा राखेर घोषणापत्र तयार पार्ने तयारी गरेको छ।

रास्वपा : फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको समूहले घोषणापत्र निर्माणको काम गरिरहेको छ। वाचापत्र मस्यौदा कार्यदलमा वाग्लेसँगै केन्द्रीय सदस्यहरू अरनिको पाँडे, सोबिता गौतम, क्रान्तिशिखा धिताललगायत सहभागी छन्। रास्वपाले सुशासन, पारदर्शिता र प्रणालीगत सुधारलाई मुख्य एजेन्डा बनाउने संकेत दिएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) : नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय समिति
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय घोषणापत्र लेखन समिति गठन गरेको छ। समितिले १० वटा विषयगत कार्यविभाजन गरी नेताहरूलाई जिम्मेवारी दिएको छ।

राजनीतिक भागको मस्यौदा तयार गर्न प्रमेश हमाल, राजेन्द्रप्रसाद श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेतलाई जिम्मेवारी दिइएको छ। सुशासन, प्रशासन सुधार र महिला हकहितका विषयमा पम्फा भूसालले नेतृत्व गरिरहेकी छन् भने शिक्षा र स्वास्थ्यतर्फ गिरिराजमणि पोखरेल र शक्ति बस्नेत जिम्मेवार छन्।

संघीयता, समावेशीकरण तथा आदिवासी जनजाति, दलित, मुस्लिम, थारू र सीमान्तकृत समुदायको हकहितसम्बन्धी योजना तयार पार्न परशुराम तामाङलाई जिम्मेवारी दिइएको छ। भूमि, किसान र सुकुम्बासीका सवालमा बलराम बाँस्कोटा, नहेन्द्र खड्का र डा. भीमा ढुंगाना सक्रिय छन्।

त्यस्तै, मजदुरसम्बन्धी एजेन्डामा प्रेमल खनाल र जय कार्की, उद्योग, पर्यटन र रोजगारीका विषयमा सुवास काफ्ले, परराष्ट्र नीति तथा डिजिटल नेपाल अभियानमा युवानाथ लम्साल र विकास ढकाललाई जिम्मेवारी तोकिएको छ। महिला र सामाजिक सुरक्षासम्बन्धी मस्यौदा लेखनको जिम्मा दुर्गा न्यौपाने भट्टराईलाई दिइएको छ।

दलहरूले घोषणापत्रलाई ‘जनतासँगको प्रतिबद्धता’ भनेर प्रस्तुत गरे पनि विगतमा कार्यान्वयन कमजोर भएको आरोप लाग्दै आएको छ। यसपटक मतदाता घोषणापत्रको भाषाभन्दा व्यवहारिकता, कार्यान्वयन क्षमता र इमान्दारितालाई मुख्य मापदण्ड बनाउने संकेत देखिन्छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।