फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रौतहट जिल्ला क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बनेको छ। यसपटकको प्रतिस्पर्धा विशेष रूपमा चर्चामा छ, कारण हो— नेपाली कम्युनिस्ट पार्टी (तारा छाप) की उम्मेदवार पुनम यादवको प्रवेश।
यादवले उम्मेदवारी घोषणा गरेसँगै घरदैलो अभियानलाई प्राथमिकता दिएकी छन्। कटहरिया नगरपालिकाको भसेढवा लगायतका बस्तीहरूमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद सुरु गरेकी छन्। वृद्धवृद्धा, महिला, युवा र किसानसँग भेटघाट गर्दै उनीहरूले भोगिरहेका दैनिक समस्या र विकाससम्बन्धी अपेक्षा सुन्ने काम भइरहेको छ।
स्थानीय राजनीतिक इतिहासमा प्रतिनिधिसभा सदस्यका लागि महिलाको उम्मेदवारी दुर्लभ मानिन्छ। त्यसैले यादवको उम्मेदवारीलाई धेरैले नयाँ राजनीतिक संकेतका रूपमा लिएका छन्। मतदाताहरूको भनाइ छ— विगतका निर्वाचनहरूमा आकर्षक नारा र आश्वासन धेरै आए, तर परिणामस्वरूप क्षेत्रले अपेक्षित विकास पाउन सकेन।
क्षेत्र नम्बर ३ मा शिक्षा, स्वास्थ्य, कृषि तथा आधारभूत पूर्वाधारका कामहरू सीमित स्थानमा केन्द्रित भएको आरोप स्थानीयहरू लगाउँछन्। खानेपानी र जनचेतनासम्बन्धी कार्यक्रमसमेत पर्याप्त रूपमा सञ्चालन हुन नसकेको उनीहरूको गुनासो छ। राजनीतिक पहुँचका आधारमा विकास वितरण हुने प्रवृत्तिले आम नागरिक निराश बनेका छन्।
यद्यपि, यसपटक मतदाताबीच परिवर्तनको चर्चा बाक्लिएको देखिन्छ। उनीहरूका अनुसार अबको निर्वाचन केवल व्यक्ति परिवर्तनको विषय होइन, कार्यशैली र प्राथमिकता परिवर्तनको अवसर हुनुपर्छ।
रौतहट–३ मा मतदाताले यसपटक विकास, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर निर्णय गर्ने संकेत देखिन थालेको छ। चुनावी माहोल तातिँदै जाँदा यहाँको परिणामले क्षेत्रको आगामी राजनीतिक दिशालाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ।










