कार्तिक १६ भक्तपुर । आज सम्मका कुनै पनि निर्वाचनमा पराजित नभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष यो पटकको चुनावी मैदानमा देखिएनन् ।
यसअघि भएका सबै निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट जित निकाल्न सफल बिजुक्छेले यो पटक विश्राम लिएका छन् । बिजुक्छे उठ्ने क्षेत्रमा ठुला दलले समेत गतिला उम्मेदवार उठाउने हिम्मत गर्दैन थिए ।
यो पटक विजुक्छे उठ्ने गरेको भक्तपुर क्षेत्र नम्बर १ बाट नेमकिपाका नेता प्रेम सुवालले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा चर्चित युवा नेतृ अनुराधा थापा मगरको उम्मेदवारी दर्ता भएको छ ।
दुवै क्षेत्रमा मनोनयन दर्ता गराएका नेमकिपामा उम्मेदवारहरू निवर्तमान सांसद समेत हुन् । बिजुक्छे पछि हट्नुको ठोस कारण भने खुलेको छैन । तर उनले नयाँ अनुहार र पुस्तालार्इ असवर दिनका लागि आफूले यो पटकबाट विश्राम लिएको प्रतिक्रिया सञ्चारमाध्यमलार्इ दिएका छन् ।
बिजुक्छे वि।सं। २०४८को आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५६को आम निर्वाचनमा भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसैगरी वि।सं। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका उनी निवर्तमान सांसद हुन् ।
भक्तपुर शहरलाई सफा, पर्यटकीय बनाउन बिजुक्छे नेतृत्वको टिमको महत्वपूर्ण योगदान रहेको छ । ख्वपः कलेजको निर्माण र सञ्चालनमा दिइएको जशका कारण भक्तपुरको मुख्य शहरमा नेपाल मजदुर किसान पार्टीको अहिले पनि राम्रो पकड रहेको छ ।
भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा ‘क’मा निरज लवाजलार्इ नेमकिपाले उठाएको छ। त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’मा सुरेन्द्र गोसाईले टिकट पाएका छन् । अर्कातिर भक्तपुर क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’सरोजराज गोसाई चुनावी मैदानमा उत्रेका छन् । प्रदेश सभा ‘ख’मा प्रेमजन थापालार्इ नेमकिपाले उम्मेदवार बनाएको छ ।