१७ कात्तिक , काठमान्डौँ । निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । असोज २९ गते दलहरुले बुझाएको बन्दसूचीमा रहेका नितिगत त्रुटि सच्याउँदै आबश्यक प्रक्रियापछि निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूची आज सार्वजनिक गर्न लागेको हो । समानुपातिक तर्फ निर्वाचन आयोगमा प्रतिनिधिसभा तर्फ ४९ र प्रदेश सभा तर्फ ५५ दलले बन्दसूची बुझाएका थिए । अधिकांश दलले बुझाएको बन्दसूचीमा त्रुटी देखिएपछि आयोगले सच्याउन गत १२ गतेसम्मको समय दिएको थियो । समानुपातिक तर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि बढीमा १ सय १० जना र कम्तीमा ११ जनाको नाम रहने गरी आयोगमा समानुपातिक तर्फको सूची दलहरुले आयोगमा बुझाएका छन् । समानुपातिक तर्फको बन्दसूचीमा ५० प्रतिशत महिला अनिवार्य गरिएको छ । त्यस्तै जनसंख्याको आधारमा खसआर्य ३१ दशमलव २, आदिवासी जनजाती २८ दशमलव ७, मधेशी १५ दशमलव ३, दलित १३ दशमलव ८, थारु ६ दशमलव ६ र मुस्लिम ४ दशमलव ४ प्रतिशत हुनु पर्ने बाध्यकारी व्यवस्था छ ।