१९ कात्तिक काठमान्डौँ । काठमान्डौँ उपत्यकाबासीले नयाँ बर्षमा मेलम्ची खानेपानी पाउने भएका छन् । आगामी चैत्रसम्ममा आयोजनाको पूर्वाधार निर्माण सम्पन्न गरी नयाँ बर्षमा उपत्यकाका घर–घरमा पानी ल्याउने गरी तीव्र गतिमा काम भइरहेको आयोजनाका उप–कार्यकारी निर्देशक रमाकान्त तिवारीले जानकारी दिए । आयोजनाले गत असोजदेखि नै राजधानीमा पानी ल्याउने दावी गरेपनि पटक–पटक समय सर्दै गएको छ । सिन्धु–ग्यालथुम, ग्यालथुम–अम्बाथानसम्मको १२ सय मिटर मात्र बाँकी खन्न बाँकी रहेकाले तयारी तिब्र रुपमा अगाडी बढेको जनाईएको छ ।
सिन्धुदेखि ग्यालथुम खण्डको केही भौगर्भिक अवस्था कमजोर भएकाले सोचेजति सुरुङ खन्न नसकिएको हो । सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम यसअघि नै सम्पन्न भइसकेको छ । दैनिक १७ मिटर जति सुरुङ खन्ने काम भइरहेको उप–कार्यकारी निर्देशक तिवारीले बताए । पुराना औजार, कमजोर तथा संवेदनशील भौगर्भिक अवस्थाको कारणले सुरुङ खन्न ढिलाइ भएको उनको भनाई छ ।
सिन्धु अडिटदेखि सुन्दरीजलसम्म सबभन्दा लामो सुरुङ खण्ड हो । सो सुरुङको ८५ प्रतिशत काम पूरा भइसकेको उनले बताए । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी ट्यांकीमार्फत उपत्यकाका जनतालाई समानुपातिक ढंगले वितरण गरिने सरकारको लक्ष्य छ ।आयोजनाले पानि ल्याउने मिति सारेको देख्दा काठमान्डौाबासी भने विश्वस्त छैनन् ।