काठमाडौँ- सर्लाही- ४ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापाकी पत्नी अञ्जना थापा केसीले गगनलाई ढाडस दिएकी छन्।
बिहीरबार भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. अमरेश सिंहसँग भारी मतले पराजित भएका गगनको माग जनमाझमा झन बढेको भन्दै उनले सामाजिक सञ्जालमार्फत ढाडस दिएकी हुन्।
‘यो एउटा निर्वाचनको हार मात्र हो, तिम्रो विचार र तिम्रो भिजनको हार होइन,’ उनले फेसबुकमा लेखेकी छन्,’गगन, तिमी जस्तो मान्छे ओइलाउनु हुँदैन। तिमी नथाक, किनकि तिमी थाक्यौ भने यो देशको एउटा ठूलो सपना थाक्नेछ। तिम्रो आवाजले सदनमा मात्र होइन, अब हरेक नेपालीको मन-मनमा न्याय र परिवर्तनको झिल्को बाल्नुपर्छ। हिजो तिमी एक्लै थियौ होला, आज तिमीसँग तिम्रो विचार र भिजनले बाँधिएका लाखौँ मनहरू छन्। विश्राम लेऊ, आफैलाई फेरि बटुल, तर याद राख, यो देशलाई तिम्रो खाँचो सकिएको छैन, बरु अझ बढेको छ। तिम्रो निष्ठा र तिम्रो अजेय यात्रामा मलाई सधैँ गर्व थियो, छ र सधैँ रहनेछ। तिमी फेरि उठ्नेछौ, किनकि तिमी गगन हौ, जसलाई कुनै सीमाले छेक्न सक्दैन।’
आइतबार बिहान आएको परिणाम अनुसार सर्लाही- ४ मा रास्वपाका सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै विजयी भएका छन् भने गगनले २२ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् ।








