हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियानका क्रममा राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जाल, विशेषगरी मेटा प्लेटफर्म अन्तर्गतको फेसबुकमा ठूलो रकम खर्च गरेको देखिएको छ।
मेटाको एड लाइब्रेरीको तथ्यांकअनुसार नेपालबाट पछिल्लो ९० दिनमा फेसबुक विज्ञापनमा करिब १ लाख ५ हजार ८३२ अमेरिकी डलर खर्च भएको छ। नेपाल राष्ट्र बैंकको विनिमयदरअनुसार यो रकम करिब १ करोड ५५ लाख रुपैयाँभन्दा बढी बराबर हो। यस अवधिमा फेसबुकमा ९ हजार ७९ वटा राजनीतिक विज्ञापन प्रकाशित भएका छन्।
तथ्यांकअनुसार ‘मेरो आवाज काउन्ट’ नामक पेजले सबैभन्दा बढी करिब ४ हजार ४२३ डलर खर्च गरेको देखिन्छ। यस्तै अजय क्रान्ति शाक्य ले करिब ४ हजार ४३ डलर खर्च गरेका छन्।
यसैबीच विभिन्न दलका उम्मेदवारहरूले लाखौँ रुपैयाँ फेसबुक प्रचारमा खर्च गरे पनि धेरैजसो उम्मेदवारहरू चुनावमा पराजित भएका छन्।
समाजशास्त्रीय अर्थशास्त्री देवेन्द्र गौचन का अनुसार डिजिटल माध्यमको पहुँच बढेसँगै चुनावी प्रचारमा सामाजिक सञ्जालको प्रयोग तीव्र हुँदै गएको छ, तर यसले विदेशी मुद्राको बाहिरिने प्रवृत्ति पनि बढाइरहेको छ।








