२०८३ बैशाख ३० गते बुधबार
२०८३ बैशाख ३० गते बुधबार

केएमसीमा भव्य रूपमा मनाइयो अन्तर्राष्ट्रिय नर्स दिवस

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल तथा दुवाकोटमा ६२औँ अन्तर्राष्ट्रिय नर्स दिवस भव्य रूपमा मनाइएको छ ।
 
अस्पतालमा मंगलबार आयोजित विशेष कार्यक्रममा वक्ताहरूले नर्सिङ पेसाको महत्व, कर्तव्य, समर्पण र स्वास्थ्य सेवामा नर्सहरूको अतुलनीय योगदानबारे प्रकाश पार्नुभएको थियो ।
 
कार्यक्रममा अस्पताल निर्देशक प्राडा. मीना थापाले नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै बिरामीको उपचारमा चिकित्सकसँगै नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो । उहाँले नर्सिङ सेवा पेशा मात्र नभई, मानवताको सेवा भएको धारणा राख्नुभयो ।
 
त्यसैगरी मेट्रोन बन्दना रिजालले नर्सिङ पेशा धैर्य, करुणा र अनुशासनको प्रतिक भएको बताउँदै बिरामीको सेवामा समर्पित रहनु नै साँचो नर्सको पहिचान भएको उल्लेख गर्नुभयो । उहाँले केएमसीका नर्सहरूले उच्च व्यावसायिकता र आत्मीय सेवामार्फत संस्थाको गरिमा बढाइरहेको बताउनुभयो ।
 
प्रशासन प्रमुख नारायण प्रसाद दाहालले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नर्सहरूको योगदान सधैं अग्रस्थानमा रहने बताउनुभयो । उहाँले नर्सहरूको मेहनत, संवेदनशीलता र जिम्मेवारीबोधकै कारण अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको धारणा राख्दै आगामी दिनमा पनि इमान्दारिता, सहानुभूति र मुस्कानसहितको सेवालाई निरन्तरता दिन आग्रह गर्नुभयो । यस्तै सुपरभाइजर रक्षा भट्टराईले नर्सहरू बिरामीको सबैभन्दा नजिक रहेर सेवा गर्ने जनशक्ति भएकाले उनीहरूको भूमिका अनुपम रहेको बताउनुभयो ।
 
अन्तर्राष्ट्रिय नर्स दिवस आधुनिक नर्सिङ सेवाकी अग्रणी व्यक्तित्व फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष मे १२ मा मनाइन्छ । उहाँको जन्म सन् १८२० मे १२ मा इटालीमा भएको थियो । नाइटिंगेलले बिरामीको सेवा, सरसफाइ, अनुशासन र मानवीय व्यवहारमार्फत नर्सिङ पेशालाई सम्मानित र व्यवस्थित बनाउनुभएको थियो ।
 
यस वर्ष ‘हाम्रा नर्सहरू, हाम्रो भविष्य— सशक्त नर्सहरूले जीवन बचाउँछन्’ भन्ने नारासहित दिवस मनाइएको हो । नर्सहरू अस्पताल, स्वास्थ्य संस्था, आपतकालीन सेवा, शल्यक्रिया कक्ष, प्रसूति सेवा, वृद्ध स्याहार तथा समुदायस्तरको स्वास्थ्य सेवासम्म हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । बिरामीलाई औषधि उपलब्ध गराउने, उपचारमा सहयोग गर्ने, स्वास्थ्य अवस्था निगरानी गर्ने, मानसिक सान्त्वना दिने तथा परिवारलाई परामर्श दिने जस्ता जिम्मेवारी नर्सहरूले निभाउँदै आएका छन् ।
 
कार्यक्रमका वक्ताहरूले केएमसीका नर्सहरूले मुस्कानसहित गुणस्तरीय सेवा प्रदान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि पेशाप्रतिको इमान्दारिता, अनुशासन र सेवाभावलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो । यो दिवस मनाउनुको मुख्य उद्देश्य नर्सहरूको योगदानको सम्मान गर्नु, स्वास्थ्य क्षेत्रमा उनीहरूको महत्वबारे जनचेतना फैलाउनु तथा नयाँ पुस्तालाई नर्सिङ पेशातर्फ आकर्षित गर्नु हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।