मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न जनसङ्ख्या तथा वातावरणमन्त्री चौधरीको आग्रह ।

0
264

३ मंसिर , जर्मनी । जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले अध्ययन, विभिन्न पेशा व्यवसायमा संलग्न भई विदेशमा रहेका नेपालीले मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गरी महत्वपूर्ण सहयोग गर्नसक्ने बताएकी छन् । जर्मनीको बोनमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि युएनएफसिसिसीको २३ औँ सम्मेलन कोप–२३ मा आएकी मन्त्री चौधरीले नेपाल जर्मन मैत्री संघद्वारा आयोजित स्वागत कार्यक्रममा विश्वका जुनसुकै देशमा रहेका नेपालीले पनि नेपालको स्वाभिमान बढाउने काम गरेमा नेपाललाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन र स्वाभिमान बढाउन सकिने उल्लेख गरीन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभू बुढाथोकीले मुलुक राजनीतिक संक्रमणबाट स्थिरतासँगै आर्थिक समृद्धिमा लागेकाले विदेशमा रहेका नेपालीले आफ्नो सीप, दक्षता र आर्थिक लगानी स्वदेशमै लगाउन आग्रह गरे । विश्वका प्रायः सबै समृद्ध मुलुकले एउटा पुस्ताले गरेको त्यागबाट नै विकासको फड्को मार्न सकेको बताउँदै उनले अब नेपालले पनि त्यस्तै फड्को मार्ने समय आएको बताए । नेपाल जर्मन मैत्री संघका अध्यक्ष तथा महावाणिज्यदूत रामप्रताप थापाले जर्मनी सरकार नेपालको आर्थिक विकासमा जस्तोसुकै सहयोग गर्न तयार रहेको र त्यसका लागि सरकारीस्तरमा वार्ता हुनुपर्ने बताउँदै डायस्फोरा अर्थतन्त्रका बारेमा अध्ययनको खाँचो औँल्याए ।