पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार बिहान नयाँदिल्लीमा भेटवार्ता भएको छ।
भ्रमणको तेस्रो दिन मोदीले रविका लागि समय छुट्याएका हुन् । रविसँगको भेटपछि मोदीले नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
उनले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने रविको इच्छामा आफ्नो समर्थन रहेको पनि बताएका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई स्वागत गर्दछु र पूर्ण रूपमा सहमत पनि छु’, उनले लेखेका छन्, ‘हाम्रो ‘छिमेकी पहिलो नीति’अन्तर्गत नेपाल एक प्राथमिक साझेदार देश हो ।’
उनले नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको पनि बताए । ‘हामी हाम्रा दुई देशहरूबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ’, उनले भनेका छन् ।









