उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङमा देखिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजू राणासँग हङकङको सडकपेटीमा हिँडिरहेको अवस्थामा देखिएका हुन्। उक्त भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ता केशर थापाले सार्वजनिक गरेको जनआस्थाले जनाएको छ ।
देउवा दम्पती गत फागुन २१ गते सम्पन्न निर्वाचनअघि उपचारका लागि सिङ्गापुर गएको बताइएको थियो। त्यसयता उनीहरू सिङ्गापुरबाट हङकङ पुगेको चर्चा भए पनि सार्वजनिक रूपमा कुनै तस्बिर वा भिडियो बाहिर आएको थिएन। अहिले सार्वजनिक भएको भिडियोले उनीहरू हङकङमै रहेको संकेत गरेको छ।
यद्यपि भिडियो कहिले खिचिएको हो भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। साथै देउवा दम्पतीको स्वास्थ्य अवस्था वा उनीहरूको बसाइबारे पनि औपचारिक विवरण आएको छैन।
गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी तथा तोडफोड भएको थियो। सो घटनामा देउवा दम्पतीमाथि समेत सांघातिक आक्रमण भएको दाबी गरिएको थियो। त्यसपछि केही समय नेपालमै उपचार गराएपछि उनीहरू थप उपचारका लागि कात्तिक १० गते सिङ्गापुर गएका थिए।
हाल सार्वजनिक भएको भिडियोपछि देउवा दम्पतीको विदेश बसाइ र स्वास्थ्य अवस्थाबारे पुनः चासो बढेको छ।









