२०८३ श्रावण ४ गते सोमबार
२०८३ श्रावण ४ गते सोमबार

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावप्रति काँग्रेसको विमति

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् ।

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए ।

सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्लाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे । तीन दलीय सरकार बनाउनु जनताले दिएको म्यान्डेट भन्दा फरक कुरा भएकाले काँग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।

उनले नेपाली काँग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे । सत्तालाई नै सबै थोक मान्ने सोचका कारण वि.सं. २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ ।

राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साख गिरेको बताए ।

सभापति थापाले भने, ‘प्रदेश सरकारको सन्दर्भमा धेरैले हाम्रो भूमिका के हुन्छ भनेर सोध्नुहुन्छ । परिणाम जे भए पनि नेपाली काँग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन । विगतका गल्ती दोहोर्‍याउँदैनौँ । तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेश विपरीत भएकाले हामीले अस्वीकार गरेका छौँ ।’

सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताए । उनले काँग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार रहनुपर्नेमा जोड दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।