यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ।

यातायात व्यवस्था विभागमा मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहित महासङ्घका प्रतिनिधि र विभागका महानिर्देशक राजीव पोखरेलसहितका पदाधिकारीबीच बसेको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

बैठकपछि महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार दसैँमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी आवश्यक तयारीलाई प्राथमिकता दिइएको छ।
‘दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको छ। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने।
यात्रुको चापलाई ध्यानमा राख्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने विभागले जनाएको छ।
दसैँका बेला यात्रुले टिकट पाउन समस्या नहोस्, अनावश्यक दुःख नपाऊन् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ।











