म्याग्दीको ५ मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको पावरहाउसको शिलान्यास

0
372

पुस १,काठमाण्डौं । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ । आयोजनाका अन्य संरचनाहरूको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाको शिलान्यास गरिएको हो ।

निलगिरी खोलाको किनारमा अवस्थित पावरहाउस आगामी ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पावरहाउस नजिक कर्मचारी आवासगृहको काम समेत सुरु गरिएको छ । निलगिरी खोलाको नजिक रहेको पावर हाउसमा खोलाले कटान गर्न सक्ने सम्भावनलाई मध्यनजर गरी रिटेनिङ वाल सहितको संरचना समेत सकिएको छ । निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.स २०७१ सालबाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको प्रवन्धक निर्देशक प्रमोद श्रेष्ठले बताउनुभयो ।सुरूङमार्ग देखि पावर हाउससम्मको पेनस्टक पाईप समेत ढुवानीको तयारी भइरहेको छ । पेनस्टक पाईपका लागि १० टन क्षमताको रोपवेको निर्माणकार्य सुरु भएको छ । आयोजनाको ड्याम, इन्टेकमा आवश्यक पर्ने निर्माण साम्रगीका लागि खोला नजिक मिनी क्रसर मेसिनको जडानले समेत निर्माणकार्यलाई सहज भएको आयोजनाले जनाएको छ । घलेम्दी खोलाको धार परिवर्तन गरी दुवै तर्फबाट निर्माण भइरहेको संरचनाको दैनिक सञ्चालक समितिका सदस्यबाट निगरानी, मजदुर र ठेकदारलाई आवश्यक पर्ने साम्रगी सुरूङमार्गबाट ट्याक्टरमा ढुवानी गर्ने गरिएको छ । आयोजनाको मुख्य काम सुरूङमार्गको फिनिसिङको कामलाई समेत तीब्रता दिइएको कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताउनुभयो ।