अविरल वर्षाले जमिन भासीदा स्थानिय त्रासमा

0
797

 बैतडी, २४ साउन ।  निरन्तर अविरल वर्षाले बैतडीको तल्लादेही–८ डाँडाखालीको पूरै जमिन भासिएको छ ।
जमिन भासिएपछि डाँडाखालीमा बसोबास गर्ने ५१ परिवार विस्थापित भएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन् । डाँडाखालीका जमिन चिरा पर्दै करिब डेढ फिट भासिएर तल सरेको बताइएको छ । शनिबार जमिन भासिएपछि अहिले सो ठाउँका ५१ परिवारको विचल्ली भएको छ । माथिबाट आएको पहिरोले तीनजनाको घर पुरेको छ भने बाँकी रहेका घरपरिवार पनि जमिन भासिएपछि सुरक्षित स्थानतर्फ जान थालेका छन् ।  केही परिवार लोखाडी प्रावि डाँडाखालीमा बसिरहेका छन् भने अन्य परिवार सुरक्षित वासस्थानको खोजीमा रहेको स्थानीय रनबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो – “अहिले गाउँका सबै मानिस त्रासदीपूर्ण वातावरणमा बस्न बाध्य छौँ ।” सो गाउँमा अहिले प्रहरी, रेडक्रस र विपद्मा काम गर्ने सङ्घसंस्था र स्थानीय प्राविधिक टोली खटाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । प्राविधिक टोलीले अध्ययन गरेपछि बस्ती नै सार्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताउनुभयो । वर्षा हुने क्रम नरोकिएकाले स्थानीय बासिन्दा झन त्रसित छन् । यसअघि सोही ठाउँमा शनिबार बिहान पहिरो जाँदा तीन घर पुरिँदा रु १८ लाख बराबरको क्षति भएको थियो ।