उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ ।
सो आयोजना कूल लागत रु. १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरु भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरुद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।
रसुवागढी जलविद्युत्ले वार्षिक रूपमा रु. ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु. तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर चार हजार एक सय ८५ मिटर सुरुङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।
चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।