कैलालीको भजनी नगरपालिका–१ गौनैयामा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट भएको छ। घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
२८ वर्षीया महिलामाथि कुटपिट गर्ने समूहमा २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार कुटपिटको घटनापछि पीडित महिलाका परिवारले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका मध्ये मनोज चौधरी गुरुवा रहेको प्रहरीको भनाइ छ। तर, घटनामा संलग्न रहेका दुई जना अझै फरार छन्, र उनीहरूको खोजी भइरहेको छ।
पुस ४ गते भएको घटनामा गम्भीर घाइते भएकी महिलाको हाल धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।