सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाका उपाध्यक्ष गीताकुमारी सिंहले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन् ।
कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष सिंहले पालिकाको सरकारी स्कोरपियो तोडफोड गरेकी हुन् । उनले गाडीलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्याएकी छन् ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका थिए । उपाध्यक्ष सिंहले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेर राखेको गाडी तोडफोड गरेको जनाइएको छ । अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक कर्मचारीले बताए । बा. २ झ ३६४३ नम्बरको स्कारपियो ढुंगाले हानेर तोडफोड गरेको उपाध्यक्ष सिंह आफैंले स्वीकार गरेकी छिन् ।