यस वर्षको साहित्य बिधाका नोबेल पुरस्कार विजेता बब डाइलान करिब एक हप्ता बित्नलाग्दा पनि सम्पर्कमा आएका छैनन् ।
नोबेल पुरस्कार समितिले बिजेता अमेरिकी श्रष्टालाई सम्पर्क गरी विजयको घोषणा र पुरस्कारको राशि बताई पुष्टि गर्ने प्रयास पनि त्यागिसकेको जनाइएको छ ।
स्वीडेनको नोबेल पुरस्कार प्रतिष्ठान स्वीडिस एकेडेमीका स्थायी सचिव सारा डेनियसले “अहिले त हामी केही पनि गर्न पाइरहेका छैनौँ । बबका निकटतम म्यानेजर, मित्र सहकर्मीहरूलाई धेरै पटक फोन सम्पर्क गरी इमेल पठाउँदा उहाँहरूले निकै आत्मीय जवाफ फर्काउनु भएको तर, बबसँग हालसम्म सम्पर्क नै कायम नभएको जानकारी दिईन ।
स्वीडिस एकेडेमीका प्रशासनिक निर्देशक अड् स्किड्रिचले पनि पुरस्कार विजेता बब डाइलानको अत्तोपत्तो नभएको र कुनै जवाफ पनि नदिएकाले उहाँसँग सम्पर्क गर्ने प्रयास हिजोदेखि त्यागेको सीएनएन टेलिभिजनलाई बताए ।
गत बिहीबार राति, साहित्य बिधाको नोबेल पुरस्कार प्रदान गरिएको घोषणा भएको दिन बब डाइलान अमेरिकाको लस भेगासमा एक साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नमा ब्यस्त थिए ।
नोबेल पुरस्कारबारे डाइलानको मौनताले आगामी डिसेम्बरमा आयोजना गरिएको पुस्कार वितरण समारोहमा उहाँको उपस्थितिको सम्बन्धमा प्रश्न चिह्न खडा गरेको छ ।