झापामा डेङगोको संक्रमण बढ्यो,चिकित्सक देखि नेता सम्म बिरामी ।

0
582

झापा, ८ कात्तिक । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा स्वास्थ्यकर्मी सहित ६० जना भन्दा धेरै बिरामी परेका छन् ।

डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका दुई जना स्वास्थ्यकर्मीमा डेङ्गु फेला परेको हो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ झापाका सहसचिव गोपाल झापालीलाई पनि डेङ्गु पोजेटिभ प्रमाणित भइसकेको बताइएको छ । मेसु शाहलाई उपचारका लागि भारतको सिलगुढी लगिएको छ ।

त्यस्तै नेकपा एमालेका दमक नगर सचिव इन्द्र गुरुङ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ ।

डेङ्गु रोगले महामारीको रुप लिएपछि साँझको समयमा दमकमा चहलपहल समेत कम हुँदै गएको छ । खासगरी डेङ्गु सार्ने लामखुट्टे साँझमा सक्रिय हुने भएकाले चहलपहल हुन छाडेको पत्रकार विष्णु पोखरेलले बताउनुभयो ।
यसैबीच डेङ्गुरोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले झापामा डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डवलबहादुर विसीको टोली पठाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क रुपमा डेङ्गु परीक्षणका लागि दमक अस्पताललाई केन्द्र तोकेको छ ।