
नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकीकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गरेका हुन्। यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो।
‘सिटी अफ एक्रोनवार्ड टु गभर्मेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेसनल डान्स फेस्टिभल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राखेका हुन्। यससँगै दिनेश २०औँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन्।
यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रूपमा टप सप काठमाडौं र सतिसाल आइआइसीका सञ्चालक न्युयोर्कका सामाजिक अभियन्ता लाेकेश श्रेष्ठ थिए। उक्त फेस्टिभलमा मेक्सिको, जर्मनी, भारत, दक्षिण अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोंगाे, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो।
आफ्नो यो सफलता १२ वर्षदेखिको मिहिनेत र धैर्यताको प्रतिफल रहेको उनी बताउँछन्। उनले भने, ‘यो रेकर्ड प्रयास गर्न सुरुवात गरेको १२ भयो, निरन्तर लागिरहे र आज सफल भएँ।’
नयाँ पुस्ताहरूलाई पार्कर खेलमा अभिप्रेरित गरी खेलमार्फत देशको नाम विश्वसामु उँचो पार्न सकेकामा गौरवको महसुस गरेको उनी बताउँछन्। अमेरिकामा राखेको रेकर्डले नेपाल र अमेरिकाबिचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नै बताउँदै उनले नेपाल र अमेरिकामा पार्कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरी विश्वस्तरीय खेलाडी र प्रशिक्षक उत्पादन गर्नु आफ्नो लक्ष्य रहेको जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट सङ्घका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिएका हुन् ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन भन्ने कामना पनि गरे ।
‘यो सम्पूर्ण नेपालीको जित हो, नेपाली क्रिकेटको जित हो, प्रतियोगितामार्फत तपाईंहरुको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन गर्यो, कठोर चुनौतीको सामना गर्दै जित हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ,’ उनले भने,’आगामी दिनमा अझ ठूला सफलता हासिल गर्नका लागि म शुभकामना दिन्छु ।’
आफू प्रधानमन्त्री भएपछि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिसम्बन्धी पहिलो निर्णय गरेको उल्लेख गर्दै उनले यसका लागि बोलपत्र आह्वान भइसकेको बताए । उनले नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने बताए ।
त्यस अवसरमा नेपाल क्रिकेट सङ्घ र खेल व्यवस्थापकहरुले नेपालमा विदेशी खेलाडी ल्याउन र खेल क्षेत्रमा विदेशी लगानी वा सहयोग ल्याउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका राम्रा खेलाडीको श्रम स्वीकृतिसम्बन्धी झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गरे ।
जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी भएको प्रतिक्रिया दिए ।
काठमाडौँ। सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । साढे चार सय पेज लामो आरोप पत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेश गरिएको जनाइएको छ । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ ।
जिल्ला अदालत कास्कीका अनुसार अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको छ। सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी छ । उनलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीवी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्न जिल्ला सरकारी वकिलको कार्यालयले अदालत उपस्थित गराएको हो ।
अहिले कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको छ । पूरक जाहेरी लिएपछि पक्राउ परेका र हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।
प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल प्रतिवेदनअनुसार ५१ जनाविरुद्ध कैद सजायसँगै १ अर्ब ५५ करोड बिगो माग दाबी गरिएको छ । शुक्रबार भने सोही प्रकरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध थप कसुरमा सजायको माग गर्दै जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेका अनुसार गत वर्ष सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएकामा शुक्रबार संगठित अपराधको कसुर पनि थप गरेर उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो । यसअघि जीबीसहित १९ जनाविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा चलाइएको थियो ।
तेह्रथुममा टिकटक बनाउने प्रयास गर्दा दुई जनाको मृत्यु भएको छ।
शनिबार, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको ज्यान गएको हो।
घटनाको दिन विद्यार्थीहरूको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो। नुहाउने क्रममा शिक्षिका र दुई छात्रा टिकटक भिडियो बनाउनका लागि खोलाको खोंचतर्फ गएका थिए। भिडियो खिच्ने क्रममा रविना र सुस्मिता खोंचमा खसेका थिए। घटनास्थलमै दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले जानकारी दिइन्।
उनका अनुसार फोटो र भिडियो खिच्ने क्रममा लडेको देखिएको छ। डीएसपी तामाङले भनिन्, “नुहाउने क्रममा विद्यार्थी र शिक्षिका अलि पर जानुभएको रहेछ। दुई जना लडेको खबरपछि जानुभएको विद्यार्थीहरूले घटनाको जानकारी ल्याउनुभयो। तर, सँगै गएका विद्यार्थीहरू आत्तिएका कारण सबै विवरण अझै प्रष्ट भइसकेको छैन।”
डडेल्धुराको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ । डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स्थापना भएको यस कार्यालयमा एक कर्मचारी र एक कार्यालय सहयोगी मात्र छन् ।
दुई प्राविधिक सहायक र एक खाद्य अनुसन्धान अधिकृत गरी तीन कर्मचारी दरबन्दी भए पनि खाद्य अनुसन्धान अधिकृत अध्ययन बिदामा र एक प्राविधिक सहायक काजमा दाङ गएपछि हाल एक प्राविधिक सहायक अभिलाषा अर्यालले सबै जिम्मेवारी बहन गर्दै आएका छन् । दरबन्दीमा कर्मचारी पूर्णता देखिए पनि कार्यालयमा एक जनाले मात्रै काम गर्दै आएको प्राविधिक सहायक अर्यालले बताए ।
‘दुई जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमूना सङ्कलन गर्ने जिम्मेवारी कार्यालयलाई भए पनि कर्मचारी अभावमा समस्या छ’, उनले भने, ‘डडेल्धुराको सातै पालिकामा अनुमगन गरिए पनि अरु काम गर्न सकिएको छैन ।’ अनुगमनमा फिल्डमा जाँदा कार्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजित जेसीजको ५१औं महाधिवेशन उद्घाटन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।
राजनीतिलगायत विभिन्न माध्यमबाट राष्ट्रको उन्नयनमा योगदान पुर्याउने हालसम्म ९ जनालाई जेसीजले मानार्थ सदस्यता प्रदान गरेकोमा दशौं व्यक्तिका रूपमा महरले उक्त सम्मान पाएका छन्।
जेसीज गैर नाफामुखी र गैर सरकारी अन्तर्राष्ट्रिय संस्था हो। विश्वका १२२ देशमा सदस्य रहेको जेसीजले युवालाई सक्रिय नागरिक बन्न, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशामा प्रोत्साहित गर्दछ।
नेपालमा पनि युवा नेतृत्व, व्यक्तित्व एवं उद्यमशीलता विकासमा केन्द्रित भई १७८ शाखामार्फत जेसीजले काम गर्दै आएको छ।
महरले यही उद्देश्य अनुरूप काम गरेकाले जेसीजले मानार्थ सदस्यता प्रदान गरेको जनाएको छ। महरले लामा समयदेखि निःशुल्क र गुणस्तरीय शिक्षा–स्वास्थ्यका लागि आवाज उठाउँदै आएका छन्।
यसका साथै उनले नैतिक राजनीतिका बारेमा पनि पैरवी गर्दै आएका छन्। उनी कांग्रेसभित्र संगठन निर्माणमा अब्बल व्यक्तिका रूपमा परिचित छन्। राजनीतिकमा महर इमानदार, कर्तव्य निष्ठ, प्रस्ट वक्ता, अध्ययनशील, विकास प्रेमी र जनप्रेमी नेताका रुपमा चिनिन्छन्। महरलाई आसन्न १५औं महाधिवेशनमा महामन्त्रीका सशक्त दाबेदार पनि मानिएको छ।
विद्यार्थी राजनीतिबाट उदाएका महर वि.सं. २०४७ सालमा १६ वर्षकै उमेरमा डडेलधुराको असीग्राम माविको नेविसंघ इकाई अध्यक्षमा निर्वाचित भएका थिए। त्यस यता उनी अविराम सक्रिय राजनीतिमा छन्।
२१ वर्षको उमेरमा २०५२ सालमा महर नेविसंघ डडेलधुराको कार्यबहाक जिल्ला अध्यक्ष भएका थिए। उनी २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भए। २०५४ सालमा महरले पार्टीको डडेलधुरा प्रचार–प्रसार विभाग उप–प्रमुखको रूपमा काम गरे।
२०५७ सालमा चितवन महाधिवेशनबाट निर्वाच जितेर महर नेविसंघको केन्द्रीय सदस्य भए । २०६४ सालमा महर निर्वाचित उपाध्यक्ष भए। २०७३ सालमा निर्वाचित अध्यक्ष भएका उनले नेविसंघको राजनीतिक इतिहासमा कहिले चुनावमा पराजय भोग्नु परेन।
१४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित महरलाई पार्टीले शिक्षा विभाग प्रमुखको जिम्मेवारीसमेत प्रदान गरेको छ।
जेसीजले आफूलाई विश्वास गरेर मानार्थ सदस्यता प्रदान गरेको प्रति महरले खुसी व्यक्त गरेका छन्। ुजेसीजको यस सम्मान र विश्वासले मलाई थप जिम्मेवार हुन प्रेरित गरेको छ। यहाँहरूले प्रदान गर्नु भएको यस विश्वासलाई म रत्तिभर घट्न दिने छैन। सधैँ कर्तव्य निष्ट भएर देश र जनताको पक्षमा काम गर्ने छु। युवाहरूको भावनाको सधैँ सम्मान गर्ने छु,ु महरले भने।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् । ३५ सूत्रीय माग राख्दै अनेरास्ववियुले अवरोध गरेपछि २६ मंसिरदेखि बराल कार्यालय जान छाडेका हुन् ।
बरालले आफ्नो कार्यालयअगाडि विद्यार्थीले घेराउ गरेपछि अन्य पदाधिकारी तथा त्रिवि कन्ट्रोलरको कार्यकक्षमा बसेर काम गर्ने गरेका छन् भने कहिलेकाहीँ घरबाटै पनि काम गर्दै आइरहेका छन् ।
गत आइतबार डिन तथा महानिर्देशक नियुक्तिको काम गर्दा पनि उपकुलपति बराल रजिस्ट्रार र रेक्टरको कार्यालयमा बसेका थिए । उपकुलपति बरालविरुद्ध धर्ना तथा घेराउको नेतृत्व एमालेनिकट विद्यार्थी नेता तथा त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टले गरेका छन् ।
उनीसहित केही विद्यार्थीले उनीमाथि मात्रै दोष थुपार्दै अवरोध गरेपछि उपकुलपतिको काममा बाधा पुगेको छ । उनीहरूले उपकुलपति कार्यालयअगाडि मागसहित कालो ब्यानर टाँसेका छन् । उपकुलपति बरालले अवरोधका कारण आफू कार्यालय जान नसकेको बताए । नयाँपत्रिका दैनिकमा समाचार छ ।
बाजुराको जगन्नाथ गाउँपालिका– ५, गोत्रीमा केन्द्रविन्दु बनाएर शनिबार गएको ५.२ रेक्टर स्केलको भूकम्पले १२५ घर पूर्ण रूपमा क्षति गरेको छ।
वडाध्यक्ष गौरी सार्कीले शनिबार बिहान सवा ४ बजे गएको भूकम्पले १२५ घर पूर्ण रूपमा क्षति भएको बताउँदै पीडित परिवार खुला आकाशमै रहेको उल्लेख गरे ।
गोत्रेको मात्रै प्रारम्भिक विवरण आएको भन्दै पालिकाभरिको यकिन रिपोर्ट आउन बाँकी रहेको उनले बताए। पालिका विपत् तथा व्यवस्थापन समितिले निर्णय गरेअनुसार तत्काल भूकम्पपीडितहरूको उद्धार तथा व्यवस्थापन गर्ने बताए। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले भूकम्पले सयौँ घरमा क्षति गरे पनि मानवीय क्षति भने नभएको बताए।
स्थानीय ४० वर्षीया पानु दमाईंले शनिबार बिहानको भूकम्पले घर पूर्ण रूपमा नष्ट गरेको बताउँदै १५ महिने बच्चा काखमा च्यापेर पुसको ठन्डीमा खुला आकाशमा बस्न बाध्य भएको दुखेसो पोखिन्। ‘भूकम्पले घर भत्काएपछि खुला आकाशमा बस्न बाध्य छौँ, चर्किएको घरभित्र बस्न डर लाग्छ,’ अर्का पीडित अपङजस दमाईंले भने। आफूजस्तै दर्जनौँ पीडित खुला आकाशमै बसिरहेको उनले बताए। अहिलेसम्म राज्यका कुनै पनि निकाय पीडितको सोधखोज गर्न नआएको उनको गुनासो छ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ। साँझतिर आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। खर्चिलाे काम थाल्नाले बीचमा समस्या पर्न सक्छ। प्रतिस्पर्धीहरू सबल बन्नेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयमा निर्णय नलिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझदेखि अरूको मुख ताक्ने बानीले काम राेकिएला। आफ्नै सहयाेगी प्रतिस्पर्धीका रूपमा देखापर्नेछन्। बलभन्दा बुद्धिको उपयोगले काम लिन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रशस्त लाभ उठाउने समय छ। रोकिएका धेरै काम बन्नेछन् र धनआर्जन पनि राम्रै हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुने योग छ । तर साँझतिर अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। खर्च लागे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आफन्तबाट टाढा भइनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउने चेष्टा गर्नेछन्। चाुनाैतीपूर्ण जिम्मेवारी आउने हुँदा परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला। साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। केही मात्रामा ऋणमोचन हुने सम्भावना छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आजकाे दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजाेर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ने देखिन्छ। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ। साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ। पेसाबाट फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोर मानसिकताले पछि परिनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मिहिनेतले मात्र फाइदा उठाउन सकिनेछ। वादविवादमा अघि नसर्नुहोला। अतिथिका रूपमा सम्मान पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। साँझतिर भने चोटपटकजस्ता आकस्मिक समस्याले सताउन सक्छ। अर्थअभावले काममा पनि बाधा हुने देखिन्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। स्वास्थ्य कमजाेर हुनाले अध्ययनमा साेचेकाे प्रगति नहुन सक्छ। आँटेकाे काम बीचैमा राेकिएला। गुरुजनको सुझाव भने लाभदायी बन्नेछ। साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।





