२०८२ असार २७ गते शुक्रबार
२०८२ असार २७ गते शुक्रबार

काठमाडौँ । महँगी पाँच प्रतिशत माथि उक्लिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार महँगी उक्लिएको देखिएको हो ।

पुस २०८१ मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिनामा ५.२६ प्रतिशत थियो ।

पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मुद्रास्फीति बढेको छ ।

पुस २०८० मा खाद्य तथा पेय पदार्थमा ५.७५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ४.९३ प्रतिशत मुद्राीफीति थियो ।

पुसमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २८.५२ प्रतिशत, घिउ तथा तेल १०.६७ प्रतिशत, दाल तथा गेडागुडी ९.४८ र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.१२ प्रतिशतले घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.३५ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पल ६.७५ र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको हो। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो।

काठमाडौँ- नेकपा (एमाले) ले पूर्वउपाध्यक्ष भीम रावललाई समर्थन गरेको भन्दै थप पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

एमाले सुदूरपश्चिमले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । खड्का र कुँवर सुदूरपश्चिम प्रदेशका पूर्व सांसद पनि हुन् ।

सुदूरपश्चिम एमाले सचिव रण चन्दका अनुसार उनीहरूलाई भीम रावललाई समर्थन जनाएको भन्दै कारबाही गरिएको हो।

मोरङ । जिल्ला अदालत मोरङले सहकारीको रकम हिनामिनाका आरोपित शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । रौनियार मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष हुन् । न्यायाधीश अरुणकुमार झाको इजलासले आज (आइतबार) रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार आदेश लगत्तै रौनियारलाई कारागार चलान गरिएको छ ।

बचतकर्ताले जम्मा गरेको रकम अपचलनमा मुछिएपछि सहकारीको कार्यालय बन्द गरेर फरार भए उनी यही माघ १४ गते अदालतमा हाजिर भएका थिए । अदालतमा उनको बयान लिन तीन दिन समय लागेको थियो । बीचमा शनिबारसहित ३ दिन बिदा पर्‍यो । रौनियारको बयान गत शुक्रबार सकिएको हो । अदालत हाजिर भएयता उनी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए । रौनियारविरुद्ध दर्ता भएको मुद्दामा आइतबार वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस सकिसँगै थुनामा पठाउन आदेश भएको सूचना अधिकारी बुढाथोकीको भनाइ छ ।

रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारीको रकम अपचलन मुद्दा मंसिर २७ गते अदालतमा दर्ता भएको थियो । मुद्दामा सहकारीका अध्यक्ष रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत प्रतिवादी छन् ।

हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो । मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । आदेशलगत्तै उनलाई कारागार चलान गरियो। गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रुपैयाँ बुझाएर छुटेकी थिइन् । वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए ।

विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।  

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टासहित एकजनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति भरतबाट नेपालतर्फ आउने क्रममा रिक्सामा खानतलासी गर्दा ठूलो परिमाणमा कंकाल खप्पर र नली खुट्टा बरामद गरेको शसस्त्र प्रहरी इलाका प्रहरी कार्यालय, रानीले जनाएको छ। 

पक्राउ परेका व्यक्तिले ती कंकालहरू के प्रयोजनका लागि कहाँ लैजान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन् ।

बैठकको विशेष समयमा सांसद सुमित्रा विसीले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणसँगै नागरिकका जनजीवनका विषय छलफलमा केन्द्रित हुनुपर्ने बताइन्। उनले मुलुकमा पछिल्लो समय महिला हिंसा बढेको उल्लेख गर्दै नियन्त्रण गर्न र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन सरकारसँग आग्रह गरिन् ।

“जाजरकोटमा भूकम्प गएको डेढ वर्ष हुँदा पनि अझै कतिपय प्रभावित जनताले दोस्रो किस्ताको राहत पाएका छैनन्”, सांसद विसीले भनिन्, “जनताको गुनासो तत्काल सुनुवाइ गर्न म सरकारसँग आग्रह गर्दछु ।” सरकारले संविधानअनुसार नै अध्यादेश जारी गरेको र त्यसलाई जनताका पक्षमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले पाथीभारामा केबलकार निर्माण सम्बन्धमा भएको घटनापछि आन्दोलनकारीबाट गरिएको बन्दको आह्वानले जनताको दैनिक प्रभावित भएको बताए । सो सम्बन्धमा उनले सरकारको ध्यानाकर्षण गराउँदै दुवै पक्षलाई बोलाएर वार्तामार्फत उचित निकासका लागि आग्रह गरे ।

“कोशी प्रदेशमा पछिल्लो समय जङ्गली हात्तीको आक्रमणबाट धनजनको क्षति बढेको छ । यसको उचित व्यवस्थापनका लागि म सरकारसँग आग्रह गर्दछु”, उनले भने । सांसद अछामीले बिपी राजमार्गको पुनः निर्माण बर्खाअघि नै सम्पन्न गर्नुपर्नेसमेत माग गरे ।

सांसद विष्णुकमारी सापकोटाले सरकारले जारी गरेको अध्यादेशमा धेरै व्यवस्था राम्रो भए पनि केही कुरामा परिमार्जनका लागि छलफल गर्नुपर्ने जरुरी रहेको बताइन्। साथै उनले नेपालको संविधानको प्रभावकारी कार्यान्वयनका लागि केही कुरामा संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै भनिन्, “संविधान गतिशील हुने भएकाले अनुभव गर्दै जाँदा समयानुकूल संशोधन गर्न आवश्यकता देखिएको छ ।” सांसद सापकोटाले लाखौँ खर्च गरेर विदेश पलायन भइरहेका युवा जनशक्तिलाई रोकेर स्वदेशमा लगानी गर्ने वातावरण बनाउन जरुरी भएको उल्लेख गरिन् ।    

सांसद जयन्तीदेवी राईले यही माघ ११ गते अछामको ढकारी गाउँपालिकामा गोठाला गएको अवस्थामा १४ वर्षीया इसारा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको घटना अमानवीय भएको बताउँदै तत्काल दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिलाउनका लागि सरकारको ध्यानाकर्षण गराइन्। साथै उनले सम्पूर्ण किशोरीलाई स्वतन्त्र तरिकाले बाँच्न पाउने अवस्था सिर्जना गर्न माग गरिन् ।

सांसद वामदेव गौतमले आफू अध्यादेशको पक्ष र विरोधमा नभएको बताउँदै अध्यादेश जारी गर्दा प्रतिपक्षलाई साथमा लिनुपर्ने र प्रजातान्त्रिक परिपाटी उल्लङ्घन गर्न नहुने उल्लेख गरे । नेता गौतमले समाजवाद पुँजीवादसँगै निर्माण गर्न सकिने उल्लेख गर्दै भने, “समाजवाद निर्माण गर्न सकिन्छ, यो आजको आवश्यकता पनि यही हो । यसका लागि आवश्यक पुँजी हामीसँगै छ ।”

सांसद पूजा चौधरीले इजरायल र प्यालेष्टाइनबीच युद्ध बिराम भएका अवस्थामा प्यालेष्टाइनको गाजामा हमास समूहको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गर्नुपर्ने सुझाव दिइन् । साथै उनले आदिवासी जनजातिमा चौथो ठूलो जनसङ्ख्या रहेको थारु समुदाय भए पनि मधेस प्रदेशमा हालै प्रदेश निजामती सेवाको चौथो तहमा थारुको कोटा हटाएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।

त्यस्तै सांसद पदमबहादुर परियारले दलित समुदायलाई संविधानमा व्यवस्था भए पनि सरकारले अहिलेसम्म कानुन बनाएर जमिनको व्यवस्था गर्न नसकेको बताए । साथै उनले जुनसुकै पार्टीको सरकारले आए पनि दलित समुदायको अधिकारलाई उचित ध्यान दिन नसकेको गुनासो गरे । सांसद जगप्रसाद शर्माले भूमिसम्बन्धी अध्यादेशमा सुकुम्वासीलाई जग्गा दिने विषय सकारात्मक भएको र हदबन्दी फुकुवा गर्दा भूमाफियाको चलखेल हुन सक्नेप्रति भने सचेत हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद गोपाल भट्टराईले संसद् नचलेको अवस्थामा सहजीकरण गर्नका लागि अध्यादेश ल्याउने सामान्य कुरा भएको बताउँदै विगतका सरकारले आज अधिवेशन बन्द गरेर भोलि अध्यादेश ल्याएको कुरालाई स्मरण गराए । उनले दलित तथा सुकुम्वासीका लागि सहज तरिकाले जग्गा उपलब्ध गराउनु राम्रो कार्य भएको र गलत मनसायबाट सञ्चालन गरेका सहकारीलाई नियमनका लागि अध्यादेश आउनु राम्रो भएको उल्लेख गरे ।

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय महिला टी–२० क्रिकेट श्रृंखलाको चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । यो नेपालको लगातार तेस्रो हार हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको उच्च लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२५ रन बनायो।

नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन् । त्यस्तै ओपनर सम्झना खड्काले २३ रन जोड्दा पूजा महतोले १८ र कविता जोशीले १४ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डच टोलीका लागि आइरिस ज्वीलिङ, क्यारोलिन डे लेन्ज र हिथर सेगर्सले सुमान दुई विकेट लिए । त्यस्तै इभा लिन्च र इसाबेला भान डेर वनिङको नाममा समान एक विकेट रह्यो । यसअघि नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको थियो । बिहीबार नेदल्र्यान्ड्ससँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो ।

हारसँगै नेपालको उपाधि सम्भावना क्षीण बनेको छ । थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक खेल जितेका छन्। हरेकले एकआपसविरुद्ध तीन खेल खेल्ने छन् । तीन देश सहभागी शृंखलाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अंकले बढेको छ । उच्च अंकले नेप्सेमा भएको वृद्धिसँगै आइतबार कारोबार अंक समेत बढेर १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार बराबरको भयो ।

आइतबारको कारोबारमा २०२ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने ३७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो । त्यस्तै आजको कारोबारमा ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर नै रह्यो ।

आइतबार नेप्सेमा उछाल आउँदा सबै समूहका सूचक हरिया भए । साथै आजको शेयर कारोबारमा ७ वटा कम्पनीको शेयर मूल्यमा १० अंकको सकारात्मक सर्किट लाग्यो । 

जसमध्ये उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

 

 उपल्लो सदनको बैठक चलिहरेका बेला आइतबार नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट ढलेका छन्।

राष्ट्रिय सभा बैठक चलिरहँदा उच्च रक्तचापका कारण बैठकमै कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन्।

उनी उक्त रक्तचाप र सुगरका बिरामी छन्। उनले बोल्नका लागि नाम टिपाएका थिए। 

उनको उपचार राष्ट्रिय सभाको स्वास्थ्य कक्षमा भइरहेको बताइएको छ।

भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए। 

काठमाडौँ । सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् ।

जिसस प्रमुख राजकुमार थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । उनी कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेको म्याग्दी प्रहरीले जनाएको छ ।

यो सहकारीले बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।