
सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन (ट्याक्सी वे) हस्तान्तरण नहुँदै प्वाल परेको छ । एप्रोनका लागि पुरिएको माटोमा राम्रोसँग रोलर नलाउँदा माटो दबिएपछि कालोपत्रे गरेको एप्रोनको भागमा प्वाल परेको हो ।
हवाईजहाज पार्किङ गर्नका लागि नयाँ निर्माण गरिएको एप्रोन हस्तान्तरण नहुँदै भ्वाङ परेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक महेन्द्रबहादुर सिंहले बताए । धेरै अग्लो गरी निर्माण गर्न आवश्यक नरहेको एप्रोनमा माटो भर्ने क्रममा कसिलो किसिमले रोलर मेसिन नलाउँदा अहिले एप्रोनमा प्वाल परेको बताए ।
विमानस्थलभन्दा ३० मिटरमाथि उठाएर उक्त एप्रोन निर्माण गरिएको छ । नयाँ एप्रोन अग्लो गरी निर्माण गरिँदा विमानस्थलका कर्मचारीलाई जहाजले भुइँ छाड्ने अन्तिम क्षेत्र देख्न सकिने अवस्थासमेत छैन । एप्रोनको दक्षिणी किनारमा तीन मिटर लम्बाइ र दुई फिट गहिरो एप्रोनको भाग भासिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।
संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रिटमा संवैधानिक इजलासमा अन्तिम सुनुवाइ बल्ल सुरु भएको छ । चार वर्षअघि दर्ता भएका १० वटा रिटमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो ।
संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेकै अवस्थामा २०७८ भदौ १७ गते सर्वोच्चकै एकल इजलासबाट भएको अन्तरिम आदेशका कारण लामो समय सुनुवाइ प्रभावित भएको थियो । रिट निवेदकमध्ये एक अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार अर्को सुनुवाइ फागुन २१ गतेका लागि तोकिएको छ ।
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भई मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब फागुन २१ गते पनि यही इजलासले मुद्दाको सुनुवाइलाई निरन्तरता दिने छ । कार्यकाल सकिन लाग्दासमेत मुद्दा टुङ्गो नलागेको भन्दै आलोचना भइरहेका बेला अदालतले अन्तिम सुनुवाइ सुरु गरेको हो । पदाधिकारीको छ वर्षको कार्यकालमध्ये नियुक्तिको संवैधानिक परीक्षणको मुद्दा चार वर्ष भइसकेको छ ।
२०७९ फागुन ३ यता पेसी चढे पनि सुनुवाइ हुन सकेको थिएन । दुई वर्षपछि मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो । दुई वर्षको अवधिमा सात पटक पेसी तोकिए पनि हेर्न नभ्याइने र हेर्न नमिल्ने इजलासमा परेको थियो ।
प्रतिनिधि सभा विघटन भएको समयमा संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी दुई पटक गरी संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त भएका थिए । नियुक्तमध्ये केहीले अवकाशसमेत पाइसकेका छन् ।
अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरी पदाधिकारी सिफारिस गरिएको थियो । २०७७ माघमा ३२ र २०७८ असारमा २० पदाधिकारी नियुक्त भएका थिए । प्रतिनिधि सभा विघटनका कारण दुवै पटक संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी पदाधिकारी नियुक्त भएका थिए । सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्ति हुन नसक्ने, अध्यादेशबाट गरिएको ऐन संशोधन गैरकानुनी रहेकोलगायतका जिकिरसहित सर्वोच्चमा रिट दर्ता भएका छन् । गोरखापत्र दैनिकमा समाचार छ
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयाेजनका विशेष सामान जुटाउन सकिनेछ। पशुधन र कृषि–व्यवसायतर्फ मनग्य लाभ हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नुअघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
केही पाउन केही वस्तु त्याग्नुपर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सापट वा कर्जामार्फत धन जुट्नेछ। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले बिस्तारै उपलब्धि पनि दिलाउनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। तत्काललाई नभए पनि पछि फाइदा हुने काम हातपार्न सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा पनि समस्या आउन सक्छ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। मिहिनेतले काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बेसुरकाे निर्णयले समस्या निम्त्याउन सक्छ।
भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।
हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताए।
“भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको लम्पी स्किन रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ । उक्त खोपको प्रयोगबाट ठूलो सङ्ख्यामा गाईभैँसी बचाउन सहयोग पुग्ने अपेक्षा छ”, उनले भने । कम्पनीले उत्पादन गरेको उक्त खोपलाई सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले स्वीकृति दिइसकेको एल्लाले बताए।
उनले पछिल्ला दुई वर्षमा उक्त रोगका कारण करिब दुई लाख गाईभैँसी मरेको उल्लेख गर्दै त्यसले दूध उत्पादनमा समेत ह्रास आएको बताए। नेपालमा मात्रै पछिल्लो दुई वर्षमा करिब १० हजार गाईभैँसी लम्पी स्किन रोगका कारण मरिसकेका छन् भने मुलुकका ७३ जिल्लाका साढे तीन लाखभन्दा बढी पशु सङ्क्रमित भइसकेका छन् ।
“रोगको सङ्क्रमणपछि गाईभैँसीले दिने दूधको परिमाणमा उल्लेख्य कमी आउँछ”, उनले भने, “मैले सुनेअनुसार नेपालले अहिले तीन डलरमा खोप ल्याइरहेको छ, हामीले नेपालका किसानलाई एक डलरमै खोप उपलब्ध गराउने योजना बनाएका छौँ ।”





