नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार भएका छन्।
भदौ २ गते बिहान करिब ७ बजे भागरकी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किएपछि उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको थाहा भएको थियो।
स्थानीय बासिन्दा तथा छरछिमेकले वन क्षेत्रमा खोजी गरे पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको थियो।
त्यसपछि बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे शिवानलाई गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको प्रहरीले जनाएको छ।
सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ।










