
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ ।
भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै मन्त्रालयले एड्भाइजरी जारी गरेको हो ।
मन्त्रालयले आज एड्भाइजरी जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।
गरिरहेको मन्त्रालयले उल्लेख गरेकाे छ ।
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको तृतीय सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न भनिएकाे छ ।
काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट दुई करोड बढी रकम घोटाला भएको खुलेको छ।
कोषको दुई करोड २१ लाख ८५ हजार ५१८ रुपैयाँ हिनामिनाको आरोपमा बहावाला दुई जना उच्च सैनिक अधिकृतमाथि नेपाली सेनाले अनुसन्धान सुरु गरेको छ । कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाले बहालवाला सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । सोही हिनामिनामा संलग्न दुई जना अवकाशप्राप्त सैनिकलाई भने नेपाली सेनाले नेपाल प्रहरीको जिम्मा लगाएको छ । प्रहरीको जिम्मा लगाइएका दुई सैनिकमा अवकाशप्राप्त जमदार आत्मराम थापा र अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी छन् ।
नेपाली प्रहरीले आवश्यक छानबिन गरी थापा र अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार ‘आपराधिक विश्वासघात’ मुद्दा दर्ता गरेको छ । दायर गरिएको मुद्दामा थापा र अधिकारीविरुद्ध दुई करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो कायम गरिएको छ । उक्त रकम ०७३ फागुन ९ गतेदेखि ०७५ असोज १७ गतेसम्मको अवधिमा हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ।अभियोगपत्रअनुसार उनीहरूले ०७४ कात्तिक १३ गतेदेखि ०७५ भदौ २६ गतेसम्मको अवधिमा १४४ थान चेकमार्फत एक करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ हिनामिना गरेको देखिन्छ । यस्तै, ०७३ फागुन ९ गतेदेखि ०७५ असोज १७ गतेसम्मको अवधिमा ४० थान चेकमार्फत ४७ लाख ६४ हजार १८५ रुपैयाँ हिनामिना गरिएको अभियोगपत्रमा उल्लेख छ ।
सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा विमा शाखाबाट आवास तथा बिमाबापतको रकम भुक्तानी गर्दा काल्पनिक नाम समावेश गरी रकम भुक्तानी गरेको पाइएपछि नेपाली सेनाले अनुसन्धान अघि बढाएको थियो । सेनाले बहालवाला सैनिकमाथि आफै अनुसन्धान गरिरहेको छ भने अवकाशप्राप्त सैनिकमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाई अनुरोध गरिएको थियो । सैनिक प्रहरी गण जंगी अड्डा भद्रकालीले उक्त पत्र ०८१ चैत ३१ गते प्रहरीलाई पठाएको थियो । त्यसपछि प्रहरीले अवकाशप्राप्त सैनिकहरूमाथि अनुसन्धान गरी मुद्दा दायर गरेको हो । सैनिक कल्याणकारी कोषमा जतिबेला यो अनियमितता भएको थियो, त्यतिबेला लक्ष्मण अधिकारी र बोधराज कार्की सेनानी, रोशन खड्का प्रमुख सेनानी र आत्मराम थापा जमदार थिए ।
‘म तत्कालीन समयमा कार्यरत रहँदा तत्कालीन सेनानी लक्ष्मण अधिकारी समेतले भनेबमोजिम तथा दिएको लिस्ट बमोजिमको चेक तयार गर्न लगाउने गरेकाले मैले सोहीअनुसार चेकहरू भरिसकेपछि मलाई सो चेकहरूबाट रकम भुक्तानी लिई आउनू भनी पठाउने गरेकाले मैले सो चेकहरू सटही गरी नगदै रकम लिई सो रकमहरू तत्कालीन सेनानी लक्ष्मण अधिकारी र तत्कालीन सेनानी बोधराज कार्की, तत्कालीन प्रमुख सेनानी रोशन खड्का समेतलाई दिने गर्दथें’, प्रहरीसँगको बयानमा जमदार थापाले भनेका छन् ।
बयानका क्रममा थापाले भनेका छन्, ‘तत्कालीन समयमा उक्त शाखामा सबैभन्दा जुनियर कर्मचारी म नै थिएँ, चेन अफ कमान्डमा चल्ने संस्था भएकाले आफूभन्दा दाहिने कमान्डरले भनेबमोजिमको काम मैले गर्ने गर्दथेँ ।’ रोशन खड्का, बोधराज कार्की, आत्मराम थापा र लक्ष्मण अधिकारी समेतले आपसी मिलेमतो तथा योजनामा सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमाबापतको रकम भुक्तानी गर्दा वास्तविक रूपमा भुक्तानी गर्नुपर्ने व्यक्तिको नाममा नगरी काल्पनिक तथा दोहोरो नाममा गरेको ठहर प्रहरी अनुसन्धानले गरेको छ ।
काठमाडौं । भारतस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ । भारत–पाकिस्तान तनाव चर्किरहेका बेला नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो । दूतावासले शुक्रबार यससम्बन्धी सूचना जारी गरेको छ ।
‘भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाली दूतावास, नयाँदिल्ली अनुरोध गर्दछ,’ दूतावासको सूचनामा भनिएको छ । दूतावासले कुनै आपतकालीन अवस्था आए दूतावासको आवश्यक समन्वय र सहजीकरणका लागि हटलाइन नम्बरहरू पनि सार्वजनिक गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ। प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे ।
राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए। सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले शान्ति र समृद्धिका लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आज (शुक्रबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काठमाडौँमा भएको पछिल्लो १८ औं सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको बताउँदै सो बेला आफूले प्रस्ताव गर्ने मौका पाएको स्मरण गराएका छन् ।
‘पछिल्लो १८ औं सार्क शिखर सम्मेलन यही काठमाडौंमा भएको थियो, १० वर्ष नाघिसक्यो,’ वाग्लेल भने, ‘त्यतिखेर कुन थिम राख्ने भन्दा मैले नै प्रस्ताव गर्ने सौभाग्य पाएको थिए । शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको त्यो दक्षिण एसियाली सपना आज कोमामा छ । कोमामै राख्ने हो कि, यसलाई मर्न दिने हो कि, यसलाई ब्युँताउने हो, यसबारे हामीले निक्र्यौल गनुपर्नेछ ।’
तनहुँमा जन्मिएका सरदार यदुनाथ खनालले नेपाल–चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल भएको स्मरण गर्दै अहिलेको सरकारबाट उक्त अपेक्षा नरहेको बताए । ‘तनहुँमा जन्मनु भएका सरदार यदुनाथ खनालले नेपाल–चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल हुनु भएको थियो,’ वाग्लेले भने, ‘भारतसँग सम्बन्ध नबिगारीकन, त्यसको लागि गहिरो अध्ययन, उच्च नैतिकता र फराकिलो अनुभव चाहिने थियो । त्यस्तो अपेक्षा अहिलेको नेतृत्वबाट छैन । एउटा श्वेत पत्र आओस् भन्ने अपेक्षा पनि छैन । तर माग भने म गर्न चाहन्छु ।’
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा नजान सुझाव दिएको छ। दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’
उक्त सन्देशमा भनिएको छ, ‘नेपाल–भारतको सीमा खुला छ, त्यसैले व्यक्तिगत लापरबाहीका कारण भारतीय भिसा बिना भारतीय भूमि गल्तीले नछिर्नुहोस् ।’ भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण भारत र नेपाल दुवैले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् । पछिल्लो पटक रक्सौल नाकाबाट केही चिनियाँ पक्राउ परेका थिए।
काठमाडौंं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरूलाई अन्तिम पटक मन्त्री बनेको हो भन्दै प्रश्न गरेका छन्। आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै उनले फोन गर्दा नउठाउने र खोज्दा नभेटिने भन्दै क्षेत्र केन्द्रित नहुन आग्रह गरेका छन्।
‘मन्त्री हुने साथीहरूसँग दुःखेसो छ। उहाँहरू अन्तिम पटक मन्त्री भएको हो कि ? फर्केर आएपछि सांसदको लहरमा बस्नु हुन्छ मेरो प्रश्न छ। सत्तापक्षकै भए पनि यति गुनासो राख्न पाउँछु’, उनले भने, ‘बजेट, नीति कार्यक्रममा देशलाई सोचेर गर्नुस् । क्षेत्र केन्द्रित नगर्नुस् । फोन गर्दा फोन उठ्दैन, जाँदा मान्छे हुँदैन। कहाँ खोज्न जाने टुकी बालेर ?’
उनले सत्तापक्षका सांसदलाई विपक्षमा भोट हाल्न नसकिने भएकाले नीति कार्यक्रम पक्षमा नै बोल्दा हुने टिप्पणी गरे । बास्कोटाले राजावादीलाई तासको बुकमा मात्रै राजारानी भेटिने भन्दै आन्दोलनको आवश्यकता नभएको टिप्पणी गरे । ‘केही साथी व्यवस्था बदल्न आन्दोलनमा हुनुहुन्छ । सरकार संविधान नै संशोधन गर्छु भनिरहेको छ। किन आन्दोलन गर्नुपर्यो अब यही भित्रबाट पुग्छ, यहाँ पुग्दैन होला अर्को चुनावमा कोशिस गर्नुस्, बहुमत ल्याउनुस्’, उनले भने, ‘तासको बुकका राजारानी खोजेर जिन्दगी गुजार्नुस्। बाँकी त अब कहाँबाट आउनु । राजा–राजा भनेको छ, निन्द्रा पनि नपर्ला जस्तो भइसक्यो । आउँदैन हजुर कोशिस नै नगर्नुस्, समयको बर्बादी हो।’
उनले लोकतन्त्रको विकल्प नभएको बताए । समाज पछाडि नफर्कने उनको भनाइ छ । सांसद बाँस्कोटाले सत्तारुढ नेपाली कांग्रेसका कतिपय सांसदहरुले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएकामा सरकारमा बसेर दोग्ला कुरा गर्न नसुहाउने बताए । ‘एउटा गीत सुन्या थिएँ मैले, हेरेको तिमीलाई आँखाले होइन मनले हो । मनले हेरे एउटा कुरा देखिन्छ, आँखाले हेरे अर्को देखिन्छ । केले जोख्नु हुन्छ । यो वर्स्ट छैन । पर्फेक्ट भएन होला, वर्स्ट छ ? ल भन्नु न त,’ उनले भने, ‘यहाँ असन्तुष्टि सत्ता पक्षकै साथीहरुले राख्नु भाछ । यो दोग्ला दोग्ला तालको समर्थन नगरौं भन्ने लाग्छ मलाई । पर्सी विपक्षमा भोट हाल्न सक्नु हुन्न अब कसलाई खपत गर्न यहाँ बेकारको कुरा गर्नु ।’
काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आज (शुक्रबार) को प्रतिनिधिसभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न / गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभामुख घिमिरेले भनेका छन् ।
भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण बीसीसीआईले आइपिएल स्थगित गरेको छ। यद्यपि, बीसीसीआईले नयाँ मिति घोषणा गरेको छैन। अझै १२ लिग खेल बाँकी छन्। प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो।
यो जानकारी पीटीआईले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै दिएको हो। बीसीसीआईका एक अधिकारीले पीटीआईलाई भने, ‘देशमा युद्ध चलिरहेको बेला क्रिकेट खेल्नु राम्रो देखिँदैन।’
८ मे को राति करिब ८:३० बजे पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गर्यो। यसै क्रममा हिमाचल प्रदेशको धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेको थियो।
पहिले ब्याटिङ गरेको पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनायो। त्यसपछि मैदानको फ्लडलाइटहरू निभाइयो र दर्शकहरूलाई घर पठाइयो। युद्धको अवस्थाका कारण शहरमा ब्ल्याकआउट लगाइयो र खेल रद्द गरियो। यो लिग चरणको ५८ औं खेल थियो। गुजरात र बेंगलुरुको ३-३ खेल बाँकी थियो।
प्रतियोगिता रोकिँदासम्म ४ टोलीसँग २-२ खेल बाँकी थिए। जबकि गुजरात र बेंगलुरुसहित ६ टोलीले ३-३ खेल खेलेनन्। लखनऊ र बेंगलुरु बीचको खेल शुक्रबार लखनऊमा खेलिने तय भएको थियो, तर त्यसअघि नै प्रतियोगिता रोकिएको थियो।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने तोलामा एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।