
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ सुरक्षाकर्मीले फोर्स ल्याण्डिङ गराएका छन् ।
भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नागरिकको उद्धारका लागि गएको सेनाको हेलिकोप्टर रसुवागढी नाकास्थित चिनियाँ भूमिमा अनुमतिबिना प्रवेश गरेको भन्दै त्यहाँका सुरक्षा अधिकारीले फोर्स ल्याण्डिङ गराएका हुन्।
बाढीका कारण चीनतर्फ अलपत्र परेका करिब एक सय ५० जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानमा लैजान हेलिकोप्टर खटिएको थियो। तर, पूर्वअनुमति नलिई हेलिकोप्टर प्रवेश गरेको भन्दै चिनियाँ पक्षले अवतरण गराएको हो। यस विषयमा स्थानिय प्रशासनले गृह, रक्षा र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको जनाइएको छ
तर नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले भने चिनियाँ भूमिमा फसेका नेपाली नागरिकहरुको उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गएको बताए । प्राविधिक समस्याका कारण हेलिकोप्टर अवतरण गर्नुपरेको र मर्मतपछि फर्किने बताए । ‘उद्धारका लागि जाने क्रममा मेकानिकल फल्ट भएर त्यहाँ अवतरण गरेको हो, मर्मतपछि फर्किन्छ’, बस्नेतले भने ।
काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।
मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि भोटेकीशीमा बाढी आएको जनाएको छ । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलाबाट बाढी आएको विभागको भनाइ छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिए । ‘त्यति ठूलो बाढी नै जाने गरी दुवैतर्फ ठूलो वर्षा भएकै छैन । न्यूनचापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ,’ उनले भने, ‘के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेर मात्रै हामी सूचना सार्वजनिक गर्नेछौं ।’ विश्व मौसम संगठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली) को स्याटेलाइट–आधारित वर्षा अनुमानअनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन ।
हिमताल फुटेको आशंका
विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासी फुटेर बाढी गएको हुन सक्ने आशंका गरेका छन् । ‘ठूलो वर्षा नहुँदा पनि बाढी जानु भनेको हिमताल कतै फुटेको पनि हुन सक्छ,’ उनले भने, ‘अहिल्यै नै कारण यकिन गर्न त सक्दैनौं तर कारण खोजिरहेका छौं । थप अध्ययन गरेर दुई–तीन दिनभित्रै सत्यतथ्य वितरण सार्वजनिक गर्नेछौं ।’
प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज भोटेकोशी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहान ३ बजे आसपास भोटेकोशीमा तिब्बत क्षेत्रबाट एक्कासी ठूलो बाढी प्रवेश गरेको देखिन्छ । ‘रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ,’ महाशाखाका बाढीविद् पराजुलीले भने, ‘रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल विभागको रसुवास्थित स्याफ्रुबेँसीको स्वचालित जलमापन केन्द्रमा बिहान ३ः३० बजे एक्कासि बहाव बढेको देखिन्छ । उक्त केन्द्रमा बिहान ३ः३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासि ३ः४० बजे ५ः३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्यांक सम्प्रेषण बन्द भएको देखिन्छ ।’
रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल यस विभागको नुवाकोटस्थित त्रिशूली वेत्रावती स्वचालित जलमापन केन्द्रमा आज बिहान ५ः०० बजे उक्त बहाव पुगेको प्रतिवेदनमा उल्लेख छ । ‘उक्त केन्द्रमा बिहान ५ः०० बजे १.६० मिटर (बहाव करिब २२० घनमिटर प्रतिसेकेन्ड) रहेको जलसतह एक्कासि बिहान ५ः१० बजे ३.६३ मिटर पुगेको र उच्चतम जलसतह बिहान ५ः५० बजे ४.१८ मिटर (बहाव करिब एक हजार ६०० घनमिटर प्रतिसेकेन्ड) पुगेको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘प्रारम्भिक रुपमा बाढीको ठूलो प्रभाव भोटेकोशी तथा त्रिशूली नदीको रसुवा जिल्लाको क्षेत्रमा परेको र मध्यम प्रभाव नुवाकोट जिल्लाको त्रिशूली नदी तटीय क्षेत्रमा परेको तथा सामान्य प्रभाव धादिङ जिल्लाको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकाले तीनवटै जिल्लाका नदी तटीय क्षेत्रमा आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएकाले बिहान ६ः३० बजे सरोकारवाला तथा नदी तटीय क्षेत्रका आम सर्वसाधारणलाई एसएमएसमार्फत सूचना जारी गरिएको थियो ।’
बाढीविद् पराजुलीले नुवाकोट जिल्लास्थित त्रिशूली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन् । विभागले भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ७ बजे एसिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको एक अन्तरिक्ष–आधारित आपत्कालीन प्रतिक्रिया (सेन्टिनल एसिया) प्लेटफर्ममा तत्कालको भू–उपग्रह तस्बिर प्राप्त गर्न आपत्कालीन अवलोकन अनुरोध जारी गरेको छ ।
बाढीविद् पराजुलीले विभागले निरन्तर अनुगमन गरिरहेको र हाल बहाव घट्दो क्रममा रहे पनि जोखिम कायम रहेको भन्दै भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका आम सर्वसाधारण तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् । ‘रसुवा जिल्लास्थित भोटेकोशी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको बेनिघाटसम्म त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाइराख्न अनुरोध गर्दछौँ,’ उनले भने, ‘यस सम्बन्धमा विभागबाट थप अध्ययन भइरहेकाले निरन्तर अपडेट जारी हुँदै जानेछ ।’
‘आगामी तीन दिन बाढीको छैन जोखिम’
आगामी तीन दिनसम्म बाढीको कुनै जोखिम नरहेको विभागका बाढीविज्ञ र मौसमविज्ञहरुले जानकारी दिएका छन् । मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म मुलुुकको अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको स्म्भावना रहे पनि भारीदेखि अति भारी वर्षाको सम्भावना नरहेको जानकारी दिए । तीन दिनसम्म देशभर बाढीको जोखिम नरहेको बताए ।
जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिलादेवी सिंह छिन्। आज बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन् ।
उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन् । मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन गरेको थियो ।
नाउपाले यसअघि केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिँदै त्यसको जानकारी सभामुख देवराज घिमिरेलाई दिएको छ । नाउपा अध्यक्ष समेत रहेकी प्रतिनिधि सभा सांसद रञ्जिता श्रेष्ठले आइतबार सभामुख घिमिरेलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराएकी हुन् ।
गएराति आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार विभिन्न स्थानमा ७ जनाको शव फेला परेको हो।
भोटेकोशी नदीको बाढीमा परेर १८ जना बेपत्ता भएका थिए। बाढीमा फसेकामध्ये हालसम्म ५५ जनाको उद्धार भएको छ।
बाढीले नेपाल चीन जोड्ने मितेरी पुल समेत बगाएको छ।
काठमाडौं । चीनतर्फबाट ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ
यस्तो छ सम्पर्कविहीन हुनेहरुको विवरण
नेपाल प्रहरी
प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ ।
जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर ।
प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा ।
चिनियाँ नागरिकः–
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU YUE
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको LI HUAQING
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YANG CHUAN
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU HAI HANG
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YOU XIAO QIU
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको JOU YONG
नेपाली नागरिक
१. जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी
२. ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत
३. ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु
४. ऐ.ऐ. बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु
५. ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु
६. जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क.
७. जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा
८. वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान
९. वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ
रसुवा । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले मंगलबार दिउँसो १२ः५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकामा चार महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार हुनेमा एक जना चिनियाँ नागरिक समेत छन् । गए राति रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले नेपाल–चीन सीमानास्थित मितेरी पुल समेत बगाएको छ । जसका कारण सवारी साधन तथा मानिसहरूको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ ।
रसुवागढीस्थित मितेरी पुल बगाएपछि नेपाल–चीनबीचको सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ। २०७६ जेठदेखि सञ्चालनमा रहेको उक्त पुल गएरातिको भीषण बाढीले बगाएको हो। यससँगै दुई देशबीचको मुख्य स्थलमार्ग सञ्जाल टुटेको छ।
यसअघि पनि २०७७ मा आएको बाढीले पुलमा क्षति पुर्याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो। तर, हरेक वर्ष बर्खायाममा चीनबाट बग्ने लेन्दी खोलामा आएको बाढीले पुल र आसपासका संरचनामा क्षति पुर्याउँदै आएको छ।
मितेरी पुल चिनियाँ लगानीमा निर्माण गरिएको हो। २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको पुल तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले पुनर्निर्माण गरेको थियो। व्यापारिक चाप बढेसँगै पहिलेको स्थानभन्दा करिब ५ मिटर उत्तरपूर्वमा नयाँ पुल निर्माण गरिएको थियो।
पुल बगेसँगै बाढीले रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुक्खा बन्दरगाहमा समेत भौतिक क्षति पुर्याएको छ। त्यस्तै, चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत् आयोजना, भन्सार यार्डमा रहेका कन्टेनर र विद्युतीय सवारीसाधनहरू समेत बगाएको छ।
बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बाढीमा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार एक जनाको खुट्टा फेला परेको हो। यसबारे थप जानकारी आउन बाँकी छ।
चीनतर्फबाट केरुङ र लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवास्थित प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति भएको छ ।
चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराजा महर्जनका अनुसार, बाढीका कारण २०० मेगावाट विद्युत् उत्पादन रोकिएको छ ।
सीईओ महर्जनका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, ६० मेगावाटको त्रिशूली थ्री–ए, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट आयोजना हाल ठप्प छन् । तीमध्ये रसुवागढी र त्रिशूली थ्री–ए मा ठूलो क्षति भएकाले तत्काल सञ्चालनमा ल्याउन नसकिने स्पष्ट गरिएको छ ।
‘पावरका हिसाबले २०० मेगावाट ठूलो होइन,’ महर्जनले भने, ‘तर बाढीले रसुवागढी आयोजनाको बाहिरी संरचना पूर्णरूपमा ध्वस्त बनाएको छ।’ उनका अनुसार भोटेकोसी र त्रिशूली करिडोरका आयोजनाहरूबाट तत्काल विद्युत् उत्पादन गर्न सकिने अवस्था छैन ।
हाल देशभरका अधिकांश जलविद्युत् आयोजना वर्षायामका कारण सञ्चालनमा रहेकाले समग्र विद्युत् आपूर्तिमा ठूलो असर नपर्ने महर्जनले बताएका छन् ।
रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ ।
बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भएको छ । यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ ।





